काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताको खेलमा गण्डकी प्रदेशविरुद्धको खेलमा कोशी प्रदेश २५ रनमा अल आउ भएको छ ।
आइतबार भएको खेलमा गण्डकीले कोशीमाथि १४२ रनको सहज जित हात पारेको हो ।
मुलपानी क्रिकेट मैदानमा गण्डकीले दिएको १६८ रनको लक्ष्य पछ्याएको कोशीले १५ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र २५ रन बनायो ।
कोशीका लागि कुनै पनि ब्याटरले दोहोरो अंकमा रान जोड्न सकेनन् । गण्डकीका लागि विपिन खत्रीले सर्वाधिक ६ विकेट लिए । उनले ७ ओभर बलिङ गरेर ४ रन खर्चे ।
त्यस्तै सन्दीप पराजुलीले ३ विकेट लिँदा अंकित न्यौपानेले एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ४८ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १६७ रन बनायो ।
गण्डकीका लागि मुकेश थापाले ६७ रनको अर्धशतकीय पारी खेले ।
उनले १२२ बल खेल्दै ७ चौका प्रहार गरे । त्यस्तै कप्तान विपिन खत्रीले ४२ रन बनाउँदा कमल परियारले १३ रन जोडे । कोशीका लागि आयस तिमिल्सेनाले ६ विकेट लिए ।
त्यस्तै फ्रिदोश अन्सारी, कमल खत्री र सोनु मण्डलले एक एक विकेट लिए ।