काठमाडौं । बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा जित निकालेको छ । बुधबार भएको खेलमा बागमतीले त्रिभुवन आर्मी क्लबमाथि ३ विकेटको जित निकालेको हो ।
बागमतीले प्रधानमन्त्री कप क्रिकेटमा आर्मीलाई पहिलो पटक हराएको हो । यसअघि बागमतीले काठमाडौं मेयर्स कपमा आर्मीलाई हराएको थियो ।
मुलपानी क्रिकेट मैदानमा आर्मीले दिएको ९८ रनको लक्ष्य पछ्याएको बागमतीले २२ ओभर १ बलमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।
बागमतीका लागि अशोक पौडेल र प्रतिश जिसीले समान २१–२१ रनको योगदान गरे । त्यस्तै ईशान पाण्डे र रविन जोशीले समान १२–१२ रन बनाए ।
आर्मीका सोमपाल कामीले तीन विकेट लिए । त्यस्तै जितेन्द्र मुखिया र साहब आलमले दुई–दुई विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आर्मी २७ ओभर १ बलमा ९७ रन बनाएर अल आउट भएको थियो ।
आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक २८ रनको योगदान गरे । त्यस्तै भीम सार्कीले १८ रन बनाउँदा विवेक यादवले ११ रन जोडे ।
बागमतीका लागि सूर्य तामाङले पाँच विकेट लिए । त्यस्तै प्रतिश जिसी र रिजन ढकालले दुई–दुई विकेट लिँदा क्रिजन गुरुङले एक विकेट हात पारे ।