काठमाडौं । सूर्य तामाङको ह्याट्रिकमा बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहज जित निकालेको छ ।
मंगलबार भएको खेलमा बागमतीले मधेश प्रदेशमाथि ८६ रनको जित हत पारेको हो ।
बागमतीको जितमा सूर्यले ह्याटिक सहित ६ विकेट लिए । मुलपानी क्रिकेट मैदानमा बागमतीले दिएको १९१ रनको लक्ष्य पछ्याएको मधेशले २९ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १०४ रन बनायो ।
मधेशका पवन सरार्फले सर्वाधिक ४५ रन बनाए । त्यस्तै मयन यादवल ३१ बनाउँदा निरज यादवले १५ रन बनाए ।
बागमतीका लागि सूर्यले २९ औं ओभरमा ह्याट्रिक लिए । उनले पहिलो बलमा रुपेशसिंहलाई बोल्ड आउट गर्दा दोस्रो बलमा राजेश यादव र तेस्रो बलमा साम्सद अन्सारीलाई आउट गराए ।
सूर्य तामाङले ९ ओभरमा ३ मेडनसहित १८ रन खर्चेर ६ विकेट लिए । त्यस्तै ईशान पाण्डे र प्रतिश जिसीले दुई–दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बागमतीले ४९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै १९० रनमा अल आउट भएको थियो । बागमतीका प्रतिशले ५९ रनको अर्धशतकीय पारी खेले ।
त्यस्तै ईशान पाण्डेले १५ रन बनाउँदा विपिन आचार्यले १३ रनको योगदान गरे ।
मधेशका लागि अरनिको यादव र रुपेश सिंहले दुई–दुई विकेट लिए । त्यस्तै राजेश यादव, रन्जित कुमार, हरिशंकर शाह र पवन सरार्फले एक–एक विकेट लिए ।
बागमतीको यो पहिलो जित हो । आजनै भएको अर्काे खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशमाथि १३४ रनको जित निकालेको छ ।