सन्दीपको शतकमा एपीएफको विजयी सुरुवात
काठमाडौं । सन्दीप जोराको शतकको सहयोगमा विभागीय टोली एपीएफले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
आइतबार भएको खेलमा एपीएफले बागमती प्रदेशमाथि ८९ रनको सहज जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा एपीएफले दिएको २४२ रनको लक्ष्य पछ्याएको बागमतीले ४२ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १५२ रन बनायो ।
बागमतीका लागि कप्तान रित गौतमले ६० रनको अर्धशतकीय पारी खेले । त्यस्तै आशुतोष घिरैयाले ४१ रन बनाउँदा रविन जोशीले २० रनको योगदान गरे ।
एपीएफका लागि रोहित पौडेलले सर्वाधिक चार विकेट लिए । त्यस्तै अविनाश बोहरा र मौषम ढकालले दुई–दुई विकेट लिँदा पुर्ण विक र भुवन कार्कीले एक–एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४१ रन बनायो । एपीएफका लागि सन्दीपले ११२ रनको शतकीय पारी खेले ।
११७ बल खेलेका उनले ७ चौका र ५ छक्का प्रहार गरे । एपीएफका लोकेश बलमे २७ रन बनाउँदा अमर राउटेलाले २२ रनको योगदान गरे ।
बलिङतर्फ बागमतीका सुर्य तामाङले तीन विकेट लिए । त्यस्तै प्रतिश जिसी र राजन ढकालले दुई–दुई विकेट लिए ।
जितसँगै एपीएफले १ खेलबाट २ अंक जोडेको छ । याता बागमतीको दोस्रो हार हो ।













-1763309767672.webp&w=3840&q=75)


