राशिदको शतकमा पुलिसको जित

काठमाडौं । राशिद खानको शतकको सहयोगमा नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ६८ रनले हराएको हो ।
त्रिवि क्रिकेट मैदानमा पुलिसले जितका लागि दिएको २८३ रनको विजयी लक्ष्य पछ्याएको बागमतीले ४२ ओभर ३ बलमा अल आउट हुँदै मात्र २१४ रन बनायो ।
बागमतीका लागि आषुतोश घिरैयाले सर्वाधिक ९२ रनको अर्धशतकीय पारी खेले । उनले ८७ बलमा ९ चौका र ४ छक्का प्रहार गरे ।
त्यस्तै इसान पाण्डेले ४४ रन बनाउँदा सोनु देबकोटाले १९ रन जोडे । पुलिसका लागि सागर ढकालले तीन विकेट लिए । त्यस्तै करण केसी, राशिद खान र दीपेन्द्र सिंह ऐरीले दुई–दुई विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८२ रन बनाएको थियो । पुलिसका लागि राशिद खानले १०६ रनको शतकीय पारी खेले । उनले ११२ बलमा ९ चौका र ६ छक्का प्रहार गरे ।
त्यस्तै आरिफ शेखले ५७ रनको अर्धशतकीय पारी खेले । पुलिसका कप्तान दिपेन्द्र सिंह ऐरीले २१ रन बनाउँदा सुनिल धमला र अर्जुन साउदले २०–२० रन बनाए ।
बागमतीका रिजन ढकाल र सुर्य तामाङले तीन–तीन विकेट लिए । त्यस्तै गौतम केसी र सोनु देवकोटाले १–१ विकेट लिए ।
आजनै भएको अर्काे खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेटले हराएको छ ।









-1763309767672.webp&w=3840&q=75)





