निजगढ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेश स्तरीय छनोट प्रतियोगितामा बिहीबार धनुषा र सिरहा बिजयी भएका छन् ।
कलैयाको सिद्धेश्वर क्रिकेट मैदानमा सम्पन्न खेलमा धनुषाले महोत्तरीलाई ७ विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले बलिङ रोजेको धनुषाले महोत्तरीलाई ४२ ओभरमा अलआउट गर्दै २ सय रनमा समेटेको थियो । महोत्तरीका नबिन यादवले अर्धशतक बनाएका थिए। नबिनले ६१ बलमा ५१ रन बनाएका थिए ।
धनुषाका रुपेश यादवले ५१ रन खर्चिएर ४ विकेट लिए।
२ सय १ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको धनुषाले ३ विकेटको क्षतिमा ३४ ओभरमा लक्ष्य पुरा गरेको थियो । धनुषाका लागि हरि शंकर साहले १ सय ४ बलमा ९४ रन बनाए ।
अर्को खेलमा सिरहाले सप्तरीलाई ५० रनले हराएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सिरहाले ३८ दशमलव ५ ओभरमा अलआउट हुँदै १ सय ४८ रन बनायो । सिरहाका शैलेन्द्र साहले ३४ बलमा ३२ रन बनाएका थिए। सप्तरीका गुणनन्द रायले २० रन खर्चंदै ३ विकेट लिएका थिए।
१ सय ४९ रनको सामान्य लक्ष्य पछ्याएको सप्तरी ३१ दशमलव ३ ओभरमा अलआउट हुँदै ९८ रन मात्र बनाउन सक्यो । सप्तरीका लागि गुणनन्द रायले ४१ बलमा २६ रन बनाए ।
सिरहाका रुपेश सिंहले २५ रन खर्चिदै ४ विकेट हात पारे । खेलको प्लेयर अफ द म्याच सिरहाका रुपेश सिंह घोषित भए ।
प्रतियोगिता अन्तर्गत शुक्रबार सर्लाही र सप्तरी तथा रौतहट र महोत्तरीबीच खेल हुनेछ ।
प्रधानमन्त्री कपकालागि मधेस प्रदेशबाट छनोट हुने प्रतियोगिता पुस २५ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा मधेसका ८ वटा जिल्लालाई २ वटा समुहमा बिभाजन गरिएको छ । समूह एमा पर्सा, रौतहट, महोत्तरी र धनुषा जिल्ला रहेको छ भने समूह बीमा बारा, सर्लाही, सिरहा र सप्तरी रहेका छन् ।