काठमाडौं । कोशी प्रदेश प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले हराउँदै कोशी फाइनलमा पुगेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ८९ रनको लक्ष्य पछ्याएको कोशीले १३ ओभरमा १ विकेट गुमाउँदै ९२ रन बनायो ।
कोशीका लागि कप्तान रुविना क्षेत्रीले ३७ रन बनाइन् । त्यस्तै कजल श्रेष्ठले नट आउट ३८ रन बनाउँदा अप्सिरी बेगमले १२ रन बनाइन् । बलिङतर्फ सुदूरपश्चिले लक्ष्मि साउदले एक विकेट लिइन् ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८८ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि सम्झाना खड्काले सर्वाधिक २५ रन बनाइन् । त्यस्तै विन्दु रावलले १७ र कविता जोशीले १५ रन बनाइन् ।
बलिङतर्फ कोशीका लागि संगिता राईले २ विकेट लिइन् । त्यस्तै एलिशा खडिया, निशा शाह र सबनम राईले समान १ विकेट लिए ।
अब कोशीले उपाधिका लागि विभागी टोली एपीएफसँग खेल्नेछ ।