काठमाडौं । विन्दु रावलको अर्धशतकको सहयोगमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा जित हात पारेको छ ।
आइतबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ९ विकेटले हराएको हो ।
त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेशले दिएको १०० रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले १४ ओभर ३ बलमा एक विकेट गुमाउँदै पूरा गर्यो ।
सुदूरपश्चिमलाई जित दिलाउन विन्दुले ५४ रनको अर्धशतकीय पारी खेलिन् । ४९ बल खेलेकी उनले ७ चौका प्रहार गरिन् ।
त्यस्तै सम्झना खड्काले २१ रन बनाउँदा रुवी पोधारले १८ रनको योगदान गरिन् । वागमतीका लागि मनिशा उपाध्यायले एक विकेट लिइन् ।
यसअघि पहिला ब्याटिङ गरेको बागमती प्रदेशले १९ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९९ रन बनाएको थियो ।
बागमतीका लागि कञ्चन श्रेष्ठले सर्वाधिक ३६ रनको योगदान गरिन् ।
त्यस्तै शोनी पाख्रिनले १४ रन बनाउँदा हेलिसा गुरुङ र खुसि डंगोलले समान १०–१० रन बनाए ।
बलिङतर्फ सुदूरपश्चिमका लागि करिश्मा थापाले तीन विकेट लिइन् । त्यस्तै लक्ष्मि साउद र रितु कनोजियाले दुई–दुई विकेट लिइन् ।