काठमाडौं । विभागीय टोली एपीएफ प्रधानमन्त्री कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको लिग चरणमा अपराजित रहँदै क्वालिफायरमा पुगेको छ ।
शनिबार भएको खेलमा बागमती प्रदेशलाई ४७ रनले हराएको हो । यो जितसँगै एपीएफले लगातार ७ खेलमा जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदानमा एपीएफले जितका लागि दिएको १२७ रनको लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ७९ रन बनायो ।
बागमतीका लागि सोनी पाख्रिनले २० रन बनाइन् । त्यस्तै यशु पाण्डेले १७ बनाउँदा संस्कृति फुयाँलले १० रन बनाइन् ।
बलिङतर्फ एपीएफका लागि सुमन विष्ट दुई विकेट लिइन् । त्यस्तै सोनु खड्का, करुणा भण्डारी, नेरी थापा र सीता रानामगरले एक–एक विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १२६ रन बनाएको थियो । एपीएफका लागि सीता रानामगरले सर्वाधिक ४४ रन बनाइन् । त्यस्तै
इन्दु बर्माले २८ रन बनाउँदा रोमा थापा १९, ज्योति पाण्डे १३ रन बनाइन् । बलिङतर्फ बागमतीको लागि संस्कृति फुँयाल, मनिषा उपाध्याय र सबिका कुमारी यादवले एक–एक विकेट लिइन् ।
जितसँगै एपीएफ ७ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रहेर क्वालिफायरमा पुगेको छ । दोस्रो स्थानको कोशी प्रदेश ६ खेलमा १० अंकका साथ दोस्रो स्थानमा छ ।
आजनै भएको अर्काे खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई २४ रनले हराएको छ । सुदूरपश्चिमले जितका लागि दिएको १२८ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १०३ रन बनायो ।
यो जितसँगै सुदूरपश्चिम प्रदेशले क्वालिफायर खेल्ने सम्भावना कायम गरेको छ । सुदूरपश्चिम ७ खेलमा १० अंकका साथ तेस्रो स्थानमा छ । एक खेल कम खेलेको कोशीको पनि १० अंक भएपनि अन्तिम खेलमा लुम्बिनीसँग पराजित भए सुदूरपश्चिम क्वालिफायरमा पुग्नेछ ।
यदि कोशी विजयी भाएमा दोस्रो स्थानमा रहेर क्वालिफायर खेल्नेछ । कोशी पराजित भएको खण्डमा बागमती, कोशी र सुदूरमध्य एक टोली नेटरनरेटमा माथि रहने शीर्ष दुईमा रहेर क्वालिफायर खेल्नेछ । तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नुपर्ने हुन्छ ।