काठमाडौं । कोशी प्रदेश प्रधानमन्त्री कप महिला टिट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्लेअफमा स्थान बनाएको छ । बिहीवार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हराउँदै कोशीले प्लेअफ स्थान बनाएको हो ।
त्रिवि मैदानमा सुदूरपश्चिमले जितका लागि दिएको ११९ रनको लक्ष्य पछ्याएको कोशीले १७ ओभर ४ बलमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
कोशीका लागि रुविना क्षेत्रीले अविजित ५१ रनको अर्धशतककिय पारी खेलिन । उनले ५५ बलमा ८ चौका र १ छक्का प्रहार गरिन् ।
त्यस्तै काजोल श्रेष्ठले ४८ बलमा ८ चौकासहित ५४ रन बनाइन । कोशीका बिमला महला ४ रनमा अविजित रहिन् ।
बलिङतर्फ सुदूरको लागि अनु कडायतले २ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै ११८ रन बनाएको थियो ।
सुदूरको लागि विन्दु रावलले सर्वाधिक ३३ रन बनाइन् । त्यस्तै सम्झना खड्काले २७ रन बनाउदा कविता जोशी २६ र रेवती धामीले २० रन बनाइन् ।
बलिङतर्फ कोशीकी सबनम राई र अप्सरी बेगमले समान एक विकेट लिइन् ।
पाँचौं जितका साथ दोस्रो स्थानमा रहँदै क्वालिफायर खेल्ने सम्भावना बलियो बनाएको छ । यता शीर्ष स्थानमा रहेको एपीएफले ५ खेलमा १० अंक जोडेको छ ।
कोशी ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ दोस्रो स्थानमा छ । सुदूर ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ ।