काठमाडौं । महावीर क्लब प्रधानमन्त्री कप काठमाडौं जिल्ला छनोट क्रिकेट प्रतियोगिताको च्याम्पियन भएको छ ।
मुलपानी क्रिकेट मैदानमा बुधबार ग्रेट हिमालय क्रिकेट एकेडेमीलाई १ सय ३७ रनले पराजित गर्दै महावीर क्लब जिल्ला छनोटको च्याम्पियन बनेको हो ।
जिल्ला क्रिकेट संघ काठमाडौंले आयोजना गरेको प्रतियोगितामा १२ टिम सहभागी रहेका थिए ।
सुरुवातमा ब्याटिङ गरेको महावीर क्लबले निर्धारित ओभरमा ८ विकेट गुमाएर २ सय ८४ रन बनाएको थियो । बिभत्सु थापाकोे ९० रनको इनिङ्समा सर्तक धितालले ४०, राकेश कर्णले ३८ र रविन जोशीले २७ रन बनाएका थिए । योगेश पाठक र ज्वती भण्डारीले नटआउट २५ र १५ रनको योगदान दिएका थिए ।
ग्रेट हिमालयका दर्शिल विष्ट र इशान पाण्डेले समान २ तथा किरण मगर र देवानन्द पासवानले समान एक एक विकेट झारेका थिए ।

२ सय ८५ रनको लक्ष्य सहित मैदान उत्रिएको ग्रेट हिमालय ३२ ओभरमा १ सय ४७ रनमा समेटियो ।
ओपनर इशान पाण्डेले ५४ रन बनाएको इनिङ्समा सुविन नाडाले ३० रनको योगदान दिएका थिए । दिपक कुँवरले १९ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
महावीरका योगेश पाठक, शर्तक धिमाल र हिमाल चन्दले समान दुई दुई विकेट लिए । प्रतिश जिसीको नाममा एक विकेट रह्यो ।
महावीरका विभत्सु थापा प्लेयर अफ द फाइनल घोषित भए ।
प्रतियोगिताको वेस्ट बलर मनोज यादव भए । वेस्ट ब्याटर हरी भण्डारी चौहान र म्यान अफ द सिरिज ग्रेट हिमालयका इशान पाण्डे बने ।
प्रतियोगिताका विजेता टोली र खेलाडीलाई क्यान सचिव पारस खड्का, जिल्ला अध्यक्ष दिवाकर घले सहितका अतिथीले ट्रफी, पदक वितरण गरेका थिए ।
छनोट प्रतियोगितालाई शेर्पा आउटडोरको केटीएम सिटीले प्रायोजन गरेको थियो ।