काठमाडौं । पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपीएफले अपराजित यात्रालाई कायमै राखेको छ ।
बुधबार कीर्तिपुर मैदानमा भएको खेलमा कर्णाली प्रदेशलाई ९२ रनले हराउँदै एपीएफले विजयी यात्रालाई जारी राखेको हो ।
एपीएफले २ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो । ओपनरद्धय राजमती ऐरीले ६७ रन र ममता चौधारीले ६२ रन बनाएको इनिङ्समा रोमा थापाले अविजित १४ रन बनाएकी थिईन् । मञ्जु बोगटी १ रनमा नटआउट रहिन् । कर्णालीकी तिर्सना विश्वकर्माले १ विकेट लिएकी थिईन् ।
१ सय ६१ रनको लक्ष्य पछ्याएको कर्णालीले ८ विकेट गुमाएर ६८ रन मात्र बनाउन सक्यो । कर्णालीका तिर्सना बुढाथोकीले १९, गौरी बोहराले १२ र रश्मि खड्काले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । एपीएफकी करुना भण्डारलिे ४, सुमन विष्टले २ तथा बिनु बुढा र सिता राना मगरले समान एक एक विकेट लिए ।
एपीएफले ५ खेलबाट १० अंक जोड्दै लिगको शीर्ष स्थानमा छ । कर्णाली जित विहिन हुँदै शुन्य अंक सहित तालिकाको पुछारमा छ ।
मुलपानी मैदानमा भएको पहिलो खेलमा कोशी प्रदेशले गण्डकीलाई ५५ रनले हरायो ।
सुरुवातमा ब्याटिङ्ग गरेको कोशीले ८ विकेट गुमाएर १ सय ३ रन बनाएको थियो । बिमला मलाहाले २५, संगिता राईले २३ र लकिता राजवंशीले २२ रनको योगदान गरेका थिए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
गण्डकीकी सुमन गोदार र श्रृष्टि जैशीले समान २ तथा आकृति तिवारी, रचना चौधरी र सुमन खतिवडाले समान एक एक विकेट लिए ।
१ सय ४ रनको लक्ष्य पछ्याएको गण्डकी १५ ओभरमा ४८ रनमा समेटियो । सुमन खतिवडाले अविजित २१ रन बनाएपनि अन्य कुनै खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
कोशीकी रुबिना क्षेत्रीले ३ तथा संगिता राई र अलिसा खडियाले समान २ विकेट लिए । अपसरी बेगमको नाममा १ विकेट रह्यो ।
कोशी ५ खेलबाट ८ अंक सहित दोस्रो स्थानमा छ । गण्डकी २ अंक सहित छैटौं स्थानमा छ ।