काठमाडौं । पीएम राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले पहिलो जित दर्ता गरेको छ ।
सोमबार मुलपानी मैदानमा गण्डकी प्रदेशलाई २७ रनले हराउँदै मधेश प्रदेशले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो ।
मधेशले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय १२ रन बनाएको थियो ।
मधेशका लागि ओपनर पुजा महतोले ३८ रन बनाएको इनिङ्समा सरस्वती कुमारीले नटआउट २६ रन बनाएकी थिईन् । प्रतिमा साहले १० रन जोडेकी थिईन् ।
गण्डकीकी सुमन खतिवडाले ३ तथा कुसुम गोदार र श्रृष्टि जैशीले समान एक एक विकेट झारेका थिए ।
१ सय १३ रनको लक्ष्य पछ्याएको गण्डकी २ बल बाँकी छँदै ८५ रनमा समेटियो ।
सुमन खतिवडाले ४२ रनको इनिङ्स खेलेपनि अन्य खेलाडीको प्रर्दशन फितलो रह्यो । श्रृष्टि जैशीले १५ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
मधेशकी पुजा महतोले ३ तथा सरस्वती कुमारी, कबिता गौतम र साक्षी यादवले समान एक एक विकेट झारेका थिए ।
मधेश प्रदेशले चौथों खेलमा आएर पहिलो जित दर्ता गरेको हो । प्रतियोगितामा एक जित मात्र दर्ता गरेको गण्डकीले प्रतियोगितामा २ अंक जोडेको छ ।
सोमबारनै कीर्तिपुर मैदानमा भएको खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई ३० रनले हराउँदा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले हरायो ।
लुम्बिनीले दोस्रो जित दर्ता गर्दै लिग तालिकामा ४ अंक र सुदूरपश्चिमले तेस्रो जित दर्ता गर्दै ६ अंक जोडेका छन् ।