काठमाडौं । पीएम कप राष्ट्रिय महिला क्रिकेटमा कोशी प्रदेश र एपीएफले लगातार दोस्रो जित निकालेका छन् ।
शुक्रबार कीर्तिपुर मैदानमा भएको खेलमा कोशीले बागमती प्रदेशलाई ८ विकेटले हरायो ।
बागमतीले प्रस्तुत गरेको ८८ रनको लक्ष्य कोशीले मात्र २ विकेट गुमाएर पुरा गर्यो । कोशीको जितमा काजल श्रेष्ठ र अपसरी बेगमले समान ४१ रनको योगदान दिए । कप्तान रुबिना क्षेत्री २ रनमा आउट भएकी थिईन् ।
बागमतीका सोनी पाख्रिन र सस्कृति फुयालले समान एक एक विकेट झारेका थिए ।
सुरुवाती ब्याटिङ गरेको बागमतीले ८ विकेटको क्षतीमा ८७ रन बनाएको थियो । बागमतीका लागि यशोधा विष्टले ४१ र अश्मिना कर्मचार्यले २४ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
कोशीकी अपसरी बेगम र सबनम राईले समान २ तथा संगिता राईले एक विकेट लिएकी थिईन् ।
कोशीले लगातार दुई खेलमा जित निकाल्दै लिग तालिकामा चार अंक जोडेको छ ।

कीर्तिपुर मैदानमै भएको दिनको दोस्रो खेलमा एपीएफले मधेश प्रदेशलाई १० विकेटले पराजित गर्यो । पहिलो खेलमा समेत सोही नतिजा निकालेको एपीएफले दोस्रो खेलमा समेत शानदार जित निकाल्यो ।
मधेशले प्रस्तुत गरेको ४० रनको सामान्य लक्ष्य एपीएफले ५ दशमलव ५ ओभरमा बिना विकेटको क्षतीमा पुरा गर्यो । एपीएफका लागि सिता रानामगरले १९ र ज्योति पाण्डेले १६ रनको योगदान गरे ।
पहिले ब्याटिङ गरेको मधेश प्रदेश ४ बल अगावै ४० रनमा अलआउट भएको थियो । प्रतिमा साहले १५ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
एपीएफकी सिता राना मगरले ३, रेखा रावल र सुमन विष्टले समान २ विकेट लिए । इन्दु वर्माले एक विकेट आफ्नो नाममा लेखाईन् ।
लगातार दोस्रो खेलमा फराकिलो जित निकाल्दै एपीएफले ४ अंक सहित शीर्ष स्थान कब्जा गरेको छ ।
शुक्रबारनै भएको खेलमा गण्डकी प्रदेशले कर्णालीलाई ४४ रनले हराउँदै पहिलो जित निकालेको छ । गण्डकीको जितमा अन्जिला विश्वकर्मा र ज्योत्निका मरासिनीले अर्धशतकिय इनिङ्स खेलेका थिए ।