काठमाडौं । पीएम कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी र कोशी प्रदेशले जित निकालेका छन् ।
बिहीबार सुरु प्रतियोगिताको दोस्रो सत्रको खेलमा लुम्बिनीले गण्डकी र कोशीले कर्णाली प्रदेशलाई हराएका हुन् ।
कीर्तिपुरमा भएको दिनको दोस्रो खेलमा लुम्बिनीले गण्डकीलाई ४ विकेटले पराजित गर्यो । गण्डकीले प्रस्तुत गरेको १ सय ३ रनको लक्ष्य लुम्बिनीले १७ ओभरमा मात्र ६ विकेट गुमाएर पुरा गर्यो ।
लुम्बिनीकी ओपनर लक्ष्मी चौधरीले ४२ रन बनाएको इनिङ्समा कप्तान सरस्वती जिएमले १२ रन बनाएकी थिइन् । अन्य खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
गण्डकीकी श्रृष्टि जैशीले २ तथा कुसुम गोदार र सुमन खतिवडाले समान एक एक विकेट हात पारेका छन् ।
सुरुवाती ब्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय २ रन मात्र बनाउन सकेको थियो ।
सुमन खतिवडाले नटआउट ३३ रन बनाएको इनिङ्समा अन्जली विश्वकर्मा ३० रनमा रिटायडहर्ट भएकी थिईन् । सिर्जना पौडेलले १९ रन बनाउन सकिन् । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
लुम्बिनीका मधु डीसी, सरस्वती पुन र कमला जिएमले समान एक एक विकेट लिएका थिए ।
मुलपानीमा भएको दिनको दोस्रो खेलमा कोशी प्रदेशले कर्णालीलाई १० विकेटले हरायो । कर्णालीले प्रस्तुत गरेको ३४ रनको सामान्य लक्ष्य कोशीले मात्र १९ बलमा बिना विकेटको क्षतीमा पुरा गर्यो ।
ओपनर तथा कप्तान रुबिना क्षेत्रीले अविजित २५ रन बनाएको इनिङ्समा काजल श्रेष्ठले नटआउट ५ रन बनाएकी थिईन् । रुबिनाले ६ चौकाको मदतले २५ रनको योगफल तयार गरिन् ।
सुरुवाती ब्याटिङ गरेको कर्णालीले १६ ओभरमा ९ विकेटको क्षतिमा ३३ रनमा समेटिएको थियो । कर्णालीका कुनैपनि खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।
कोशीका अप्सरी बेगमले ३ तथा अलिशा खडियाले २ विकेट लिएका थिए । सबनम राई, निशा साह र रुबिना क्षेत्रीले समान एक एक विकेट हात पारेका थिए ।
पहिलो खेलमा जित निकाल्दै लुम्बिनी र कोशीले समान २ अंक जोडेका छन् ।