काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा बागमती प्रदेश र एपीएफले विजयी सूरुवात गरेका छन् ।
बिहीबार सुरु भएको प्रतियोगितामा बागमतीले मधेश प्रदेश र एपीएफले सुदूरपश्चिम प्रदेशलाई हराएका हुन् ।
कीर्तिपुरमा भएको खेलमा बागमतीले मधेश प्रदेशलाई २८ रनले हरायो ।
बागमतीले प्रस्तुत गरेको १ सय १८ रनको लक्ष्य पछ्याएको मधेशले ५ विकेट गुमाएर ८९ रन मात्र बनाउन सक्यो । मधेशकी पुजा महतोले ३५ रन र अनुराधा चौधरीले २१ रन बनाईन् । प्रतिमा साहले नटआउट १५ रन जोडिन् ।
बागमतीकी अश्मिना कर्मचार्यले २ तथा मनिषा उपाध्यायले १ विकेट हात पारिन् ।
सुरुवाती ब्याटिङ गरेको बागमतीलले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो । यशोधा विष्टले नटआउट ४७ रन बनाएको इनिङ्समा अश्मिना कर्मचार्यले नटआउट ३० रन बनाएकी थिईन् ।
मधेशकी पुजा महतोले २ र कबिता गौतमले १ विकेट हात पारिन् ।

मुलपानीमा भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई ९ विकेटले पराजित गर्यो ।
सुदूरपश्चिमले प्रस्तुत गरेको ८८ रनको लक्ष्य एपीएफले १ विकेट गुमाएर पुरा गरेको हो । ज्योति पाण्डेको अविजित ४९ रन र इन्दु वर्माको अविजित ३१ रनमा एपीएफले सहजै लक्ष्य पुरा गरेको हा । सिता राना मगरले ४ रन बनाईन् ।
सुदूरकी इश्वरी विष्टले १ विकेट लिईन् ।
सुरुवातमा ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेट गुमाएर ८७ रन बनाएको थियो । कबिता जोशीले २२ रन र सम्झना खड्काले १२ रन बनाउनु बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
एपीएफकी सोनु खड्काले २ तथा सुमन विष्ट, करुण भण्डारी र इन्दु वर्माले समान एक एक विकेट लिएका थिए ।
बागमती र एपीएफले जित सहित लिग तालिकामा समान २ अंक जोडेका छन् ।