काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको खेलाडीको अक्सन दुबईमा सम्पन्न भएको छ । खेलाडीको लिलामीमा सहभागी क्लबले खुलेर खर्च गरेका छन् ।
अष्ट्रेलियन तिव्र गतिका बलर मिचेल स्टार्क आईपीएलको इतिहासका सर्वाधिक महङ्गा खेलाडी बनेका छन् । उनको न्युनतम मुल्य २ करोड राखिएको थियो । स्टार्कमाथि कोलकत्ता नाइट राइडर्सले २४ दशमलव ७५ करोड भारतीय रुपैयाँ खर्च गरेको छ ।
यस लिलामीमा अष्ट्रेलियन कप्तान प्याट कमिन्सलाई सनराइजर्स हैदराबादले २० दशमलव ५० करोडमा किनेको छ । स्टार्कले आफ्नो राष्ट्रिय टिमका कप्तानको रेकर्डलाई तोडेका छन् ।
स्टार्कमाथि दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सले कडा टक्कर दिदै भाउ लगाएका थिए । दिल्लीले ९ दशमलव ४० करोड बोली लगाउँदै पछि हटेको थियो । मुम्बईले अधिकतम ९ दशमलव ६० करोडको बोली लगाएको थियो । त्यसपछि गुजरात र कोलकत्ताबीच टक्कर देखिएको थियो ।
कोलकत्ताको टेबलमा गौतम गाम्भिर र गुजरातको टेबलमा आशीष नेहरा बसेका थिए । भारतका दुई पूर्व खेलाडीका बीच अष्ट्रेलियन तिव्र गतिका बलरलाई लिएर कडा टक्कर देखिएको थियो । अन्तिममा गम्भिरले बाजी मारेका थिए ।