काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) आउँदो मार्चमा सुरु हुदैछ । यसको लागी आईपीएलको अक्सन मंगलबार दुबईमा दिउँसो साढे २ बजेबाट सुरु हुदैछ ।
यसपटक ३ सय ३३ खेलाडीको बोली लाग्ने छ, जसमध्ये बढीमा ७७ खेलाडी मात्रै किन्न पाइनेछ भने ३० स्लट विदेशी खेलाडीका लागि छन् ।
१० टोलीको लिलामीमा २६२ दशमलव ९५ करोड रुपैयाँ बाँकी छ । तीमध्ये गुजरात, हैदरावाद, कोलकाता र चेन्नई ३० करोड रुपैयाँभन्दा बढीको लिलामीमा प्रवेश गर्नेछन्।
यी मध्ये कुनै एक टोलीमा आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी पनि पर्न सक्नेछन्, जसको मूल्य २० करोड नाघ्न सक्ने अनुमान छ ।
इंग्ल्याण्डका साम करन आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी हुन् । उनलाई गत सिजनमा पञ्जाब किंग्सले १८ दशमलव ५० करोडमा किनेको थियो । यो वर्ष उनको कीर्तिमान तोडिन सक्छ । किनकी विश्वकप पछि धेरै खेलाडी दावेदार देखिएका छन्।
न्यूजिल्याण्डका बायाँ हाते ब्याटिङ अलराउन्डर रचिन रविन्द्र र एकदिवसीय विश्वकपको फाइनलमा १३७ रन बनाएर भारतबाट ट्रफी खोसेका अष्ट्रेलियाका ओपनर ट्राभिस हेड मुख्य दावेदार देखिएका छन्।
इंग्ल्याण्डका मिडल अर्डर ब्याट्सम्यान ह्यारी ब्रुक, जो अन्तर्राष्ट्रिय टि-ट्वान्टीमा प्रत्येक छैटौं बलमा बाउन्ड्री प्रहार गर्छन्। उनले २५ टी–२० खेलमा १४१ दशमलव ०२ को स्ट्राइक रेटमा ४९५ रन बनाएका छन् । उनलाई पनि ठुलो बोलि लाग्न सक्दछ।
यस्तै, भारतीय फास्ट बलर शार्दुल ठाकुरसँग महत्वपूर्ण समयमा विकेट लिन सक्ने क्षमता छ । उनले तल्लो क्रममा ठूला शटहरू प्रहार गर्न सक्छन्। शार्दुलले भारतका लागि २५ टी–२० खेलमा ३३ विकेट लिएका छन् । उनलाई हरेक टोली आफ्नो टिममा चाहनेछन्।
आफ्नो कप्तानीमा अस्ट्रेलियाबाट एकदिवसीय र टी–२० विश्वकपसँगै एसेज र विश्व टेस्ट च्याम्पियनसिप जितेका प्याट कमिन्स पनि अक्सनमा हुनेछन् ।
श्रीलंकाका स्पिन बलिङ अलराउन्डर वानिन्दु हसरङ्गा टी–२० वरीयतामा तेस्रो नम्बरमा रहेका छन् । उनी आफ्नो विश्वस्तरीय लेग स्पिनको आधारमा कुनै पनि अन्तर्राष्ट्रिय टोलीको हिस्सा बन्न सक्छन्।
दक्षिण अफ्रिकाका २३ वर्षीय फास्ट बलर जेराल्ड कुट्जीले एकदिवसीय विश्वकपमा २० विकेट लिएका छन् । उनको गति र बाउन्स भारतीय पिचहरूमा धेरै प्रभावकारी थियो जसले आईपीएल टोलीहरूलाई पनि आकर्षित गर्न सक्छ।