काठमाडौं । फ्रेन्चाइज क्रिकेट पाकिस्तानी सुपर लिग पीएसएलको नयाँ सिजनका लागि कुनैपनि नेपाली क्रिकेटर बिक्री भएनन् ।
बुधबार ड्राफ्ट सूचि अनुसार खेलाडी छनोटमा कुनैपनि सहभागी टिमले नेपाली क्रिकेटरमा विश्वास गरेनन् ।
नेपालबाट ८ खेलाडी पीएसएलको अन्तिम ड्राफ्टमा परेका थिए । सिल्भर श्रेणीमा रहेका नेपाली क्रिकेटरको मुल्य ४१ लाख १५ हजार पाकिस्तानी रुपैयाँ रहेको थियो ।
पीएसएलको ड्राफ्टमा देव खनाल, आसिफ शेख, आरिफ शेख, अर्जुन साउद, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, कुशल मल्ल र सोमपाल कामी परेका थिए ।
पीएसएलमा इस्लामाबाद युनाईटेड, कराँची किंग्स, लाहोर ग्लाडर्स, मुल्तान सुल्तान, पेसेवर जल्मी, क्वेटा ग्लाडियटर्स गरि ६ टिम सहभागी छन् ।
नेपाली खेलाडीलाई बाहिर राख्दै सहभागी टिमले खेलाडी चयन गरेका छन् । प्रतियोगिता फागुन १३ देखि चैत ५ गतेसम्म सञ्चालन हुने तालिका छ ।
सन् २०२४ को इन्डियन प्रिमियर लिग क्रिकेटको अन्तिम सूचिमा समेत नेपालका कुनै खेलाडी परेनन् ।
पछिल्लो समय अन्तराष्ट्रिय क्रिकेटमा राम्रो प्रर्दशन र नतिजा निकालेका नेपाली क्रिकेटरले छिमेकी देशमै हुने क्रिकेटका सबैभन्दा ठुला प्रतियोगितामा अवसर पाउन सकेका छैनन् ।