अन्तिम खेलमा नेपाल भारतसँग खेल्दै

काठमाडौं । यू–१९ एसिया कप क्रिकेटमा नेपालले मंगलबार भारतसँग खेल्दैछ ।
समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग खेल्न लागेको हो ।
दुबईको हुने खेल नेपाली समय अनुसार सवा ११ बजे सुरु हुनेछ ।
प्रतियोगिताको सुरुवाती दुई खेलमा नेपालले राम्रो प्रर्दशन गर्न सकेन । पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले हारेको नेपालले दोस्रो खेलमा अगफानिस्तानलाई ७३ रनको नतिजा सुम्पिएको थियो ।
नेपालको युवा टोलीको ब्याटिङ निकै कमजोर देखिएको छ । खेलाडीले पछिल्ला दुवै खेलमा राम्रो साझेदारी गर्न सकेका छैनन् ।
पाकिस्तानविरुद्ध उत्तम मगरको अर्धशतक र अफगानिस्तानविरुद्ध अर्जुन कुमालको शानदार इनिङ्सले नेपालको हार अन्तर लज्जास्पद देखिएन । नत्र दुवै खेलमा नेपालको ब्याटिङ निकै खराब देखिएको छ ।
राष्ट्रिय टिमबाट खेलिसकेका गुलसन झाले समेत राम्रो प्रभाव पार्न सकेका छैनन् । कप्तान देव खनाल दुवै खेलमा पुरा असफल देखिएका छन् ।
प्रतियोगिताबाट नेपाल लगभग बाहिरिसकेको छ । नेपाल शुन्य अंक सहित तालिकाको पुछारमा छ । दुवै हारले नेपालको नेट रनरेट समेत ऋणात्मक छ ।
यस समूहमा पाकिस्तान ४ अंक सहित शीर्ष स्थानमा छ । भारत र अफगानिस्तान समान २ अंक जोडेको क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । नेपाल शुन्य अंक सहित तालिकाको पुछारमा छ ।














