सत्यवती एकेडेमी अन्तिम चारमा

काठमाडौं । सत्यवती एकेडेमी कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)को समुह 'डी'को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ।
यसअघि समुह 'सी'बाट घोडाघोडी क्रिकेट एकेडेमी, समुह 'बि'बाट युथ अफ टिकापुर सेमीफाइनल प्रवेश गरिसकेका छन्।
सोमबार फाप्ला क्रिकेट मैदानमा सम्पन्न खेलमा सत्यवती एकेडेमीले क्रिकेट एक्सिलेन्स सेन्टरलाई ११ रनले पराजित गर्यो।
सत्यवती एकेडेमीले दिएको १ सय २७ रनको लक्ष्य पछ्याएको क्रिकेट एक्सिलेन्स सेन्टरले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय १५ रन बनायो।
एक्सिलेन्स सेन्टरको ब्याटिङ्गमा अर्जुन घर्तिले सर्वाधिक ३४ रन बनाए । सचिन लेखकले १९, मनोज यादवले १७ तथा राज कुमार शाहले १३ रन बनाए।
सत्यवती एकेडेमीको बलिङ्गमा फिर्दोश अन्सारी र तृत राज दासले २-२ विकेट लिए । अभिषेक कोइराला, सन्तोष कार्की, रञ्जित क्कुमार र सन्दिप क्षेत्रीले १-१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ्ग गरेको सत्यवती एकेडेमीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २६ रन बनायो।
सत्यवतीको लागि कप्तान सन्तोष कार्कीले सर्वाधिक ४८ रन बनाए। ओपनिङ्ग गरेका उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे। इमरान शेख र सुजन गौतमले समान २१ रन बनाए।
क्रिकेट एक्सिलेन्स सेन्टरका अभिनाश बस्यालले २ तथा मनोज यादव, दयानन्द मण्डल र मोन्सन सिंहले १-१ विकेट लिए।
लिटल फ्लावरको सान्त्वना जित
दिनको पहिलो खेलमा लिटल फ्लावर स्कुलले गरुडा नगरपालिकालाई ५७ रनले पराजित गर्यो।
जितको बाबजुद समुह 'सी'को उपविजेता लिटल फ्लावर सेमीफाइनल प्रवेश गर्न असफल रह्यो। तीन वटै खेलमा जितको साथ समुह 'सी'को विजेताको रुपमा घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनल प्रवेश गरिसकेको छ।
प्रतियोगिता अन्तर्गत मंगलबार पहिलो खेलमा कैलाली जिल्ला क्रिकेट क्लब र शुक्लाफाँटा ब्ल्याकबक्स तथा दोश्रो खेलमा शारदा सेकेण्डरी स्कुल र धनगढी क्रिकेट एकेडेमीबीच हुनेछ।
लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो।
प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टीमको सहभागिता रहेको छ।





-1776739058950.jpeg&w=3840&q=75)
-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)




