काठमाडौं । क्रिस्टियानो रोनाल्डोले गोल र असिस्ट सहित करियरको १२ सय खेल पुरा गरेका छन् ।
साउदी अरेबियन क्लब अल नासिरबाट उनले शुक्रबार गोल र असिस्ट गर्दै १२ सय प्रोफेसनल म्याचको आँकडा पुरा गरेका हुन् ।
३८ वर्षका भेट्रान फरवार्डले साडियो मानेको क्रसमा ट्याप गर्दै गोल गरेका थिए भने अल रियादविरुद्ध प्राप्त ४–१ को जितमा सहकर्मी ओटावियोलाई पास उपलब्ध गराएका थिए ।
रोनाल्डोले यस कोशेढुङ्गासम्म पुग्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनले अझै काम पुरा नभएको प्रतिक्रियालाई थपेका छन् ।
यस सिजन रोनाल्डो साउदी प्रो लिगका सर्वाधिक गोलकर्ता हुन् । उनले १५ खेलमा १६ गोल गरेका छन् ।
इङ्ल्याण्डका पूर्व गोलकिपर पिटर सिल्टनको १३ सय ८७ प्रोफेसनल म्याचलाई सबैभन्दा धेरै ब्यवसायीक म्याच खेल्ने रेकर्ड भनेर लिने गरिन्छ ।
सन् २०२० को फेब्रुअरीमा सिरि ए क्लब युभेन्ट्सबाट गोल गर्दै १ हजार खेलको कोशेढुङ्गा पार गरेका थिए ।
गत जुनमा उनी अन्तराष्ट्रिय फुटबलमा २ सय खेल पुरा गर्ने पहिलो खेलाडी बनेका थिए । उनले पोर्चुगलबाट आइसल्याण्डविरुद्ध खेलेका थिए । उनले अन्तराष्ट्रिय फुटबलमा १ सय २८ गोलका साथ धेरै गोल गर्ने कीर्तिमान बनाएका छन् ।
उनी क्लब फुटबलमा समेत १ सय ८३ खेल सहित सबैभन्दा धेरै च्याम्पियन्स लिगका म्याच खेल्ने खेलाडी हुन् । उनी शीर्ष डिभिजनको फुटबलमा ८ सय गोल पुरा गर्ने पहिलो खेलाडी हुन् ।
अल नासिर अहिले साउदी प्रो लिगको दोस्रो स्थानमा छ । अल हिलाल भन्दा रोनाल्डोको टिम ७ अंकले पछि छ ।