योगेन श्रेष्ठ
पोखरा । प्रथम केपी ओली कप राष्ट्रिय टी ट्वान्टी क्रिकेट प्रतियोगितामा एपीएफविरुद्ध गण्डकी प्रदेशले शानदार जित निकालेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा भएको प्रतियोगिताको दोस्रो दिन गण्डकीले विभागीय एपीएफ क्लबलाई ४ विकेटले हराएको हो ।
गण्डकीले अन्तिम २ बल बाँकी हुँदै १ सय २ रनको लक्ष्य भेट्टाएको थियो । गण्डकीले १९ दशमलव ४ ओभरमा ६ विकेट गुमाउँदै १ सय ४ रन बनायो ।
टस हारेर ब्याटिङमा आएको एपीएफले १८ दशमव ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो । गण्डकीका बलरले आफ्नो घरेलु मैदानमा उत्कृष्ट बलिङको नमुना पेश गर्दै एपीएफलाई दबाबमा राखेका थिए ।
एपीएफका कप्तान प्रदिप ऐरीले २३ बलमा २० रन जोडे । उनले आफ्नो इनिङ्समा २ चौका १ छक्का प्रहार गरे । उनी कमल परियारको बलमा एलबिडब्लु धरापमा परे । एलविडव्लु डिसिजनमा आउट भएका अर्का ओपनर आशिफ शेखले १२ रन जोडे । उनलाई विपिन खत्रीले आउट गरे । भुवन कार्की र सुमित महर्जनले एपिएफका लागि १४–१४ रन बनाउँदा लोकेश वमले १२ रन जोडे ।
गण्डकीका लागि म्यान अफ दि म्याच समेत रहेका अमृत गुरुङ, विपिन खत्री, चन्द्र पौडेल र कमल परियारले समान २–२ विकेट हात पारे । दिनेश बुढामगर र सुदिप अर्यालले १–१ विकेट लिए ।
अन्तिम ओभरको खेल चलिरहँदा लगातार दुई विकेट गुमाउँदै धर्मराएको गण्डकीलाई अमृत गुरुङले छक्का प्रहार गर्दै जित दर्ता गराएका थिए ।
गण्डकीले स्कोर बोर्डमा २६ रन जोड्दा पहिलो विकेट गुमाउन पुग्यो । ओपनर किरण पौडेल ७ रनमा अमर रौतेलको बलमा पेविलियन फर्किदा अर्का ओपनर गौरव विकले ११ रनको व्यक्तिगत स्कोरमा इरशाद अहमदको बलमा सन्दिप जोराको हातबाट क्याच आउट हुन पुगे ।
गण्डकीका लागि मुस्कान थापाले सर्वाधिक २६ रन जोडे । उनलाई अभिनाश बोहरा बोल्ड गरे । अभिनाशकै बलमा आउट भएका दिनेश बुढामगरले २४ रन बनाए । अभिशेक थापा ११ रन बनाउँदै नटआउट रहे ।
शुक्रबार भएको पहिलो खेलमा कर्णालीलाई हराउँदै बागमती प्रदेश सेमिफाइनल पुग्ने पहिलो टोली बनेको छ ।
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहित मेडल, ट्रफी प्राप्त गर्ने छन् ।
म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्याटर र बलरले जनही नगद २०–२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने छन् ।
प्रतियोगिता १५ गते सम्म सञ्चालन हुनेछ ।