बागमती प्रदेशको शानदार सुरुआत

योगेन श्रेष्ठ
पोखरा । केपी ओली कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले शानदार सुरुआत गरेको छ । बिहीबार आयोजकको रातो टिमलाई १ सय ९ रनले हराउँदै बागमतीले प्रतियोगितामा शानदार सुरुआत गरेको हो ।
मदन भण्डारी स्पोर्टस फाउन्डेसनको आयोजनामा पोखरामा बिहीबार सुरु भएको प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री एवंम एमाले नेता केपी ओलीले गरेका थिए ।
सुरुआती ब्याटिङ गरेको बागमतीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । रीत गौतमले ७४ रन बनाएको इनिङ्समा अर्का ओपनर शुभ कंशाकारले २७ रन बनाएका थिए । प्रतिक श्रेष्ले १४ र सन्दीप लामिछानले १८ रनको योगदान गरे । गौरव खड्का १७ रनमा अविजित रहे ।
आयोजकका विप्रसन केसीले ३ तथा सन्देश थापा, सन्तोष यादवले समान एक एक विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको आयोजकको रातो टिम १४ दशमलव २ ओभरमा ७५ रनमा अलआउट हुन पुग्यो ।
ओपनर अमर मिश्र र विजय प्रजापतिले समान १३ रन बनाएको इनिङ्समा सन्तोष यादवले १२ र नितेश थापाले १० रन बनाएका थिए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
बागमतीका सन्दीप लामिछानेले ४, सुभाष खत्रीले ३, प्रतिश जिसीले २ तथा राजन ढकालले १ विकेट लिएका थिए ।
प्रतियोगिताको दोस्रो दिन शुक्रबार बागमती प्रदेश र कर्णाली प्रदेश तथा विभागीय टिम एपीएफ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।













