‘ड्रेसिङ रुम’मा प्रधानमन्त्री मोदी

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रिय क्रिकेट टिमको ड्रेसिङ रुपमा पुगेर खेलाडीलाई दिएको ढाडस भाइरल भएको छ ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको विश्वकपको फाइनलमा भारतीय टिम अष्ट्रेलियासँग हारेको थियो । करिब ४५ दिन च्याम्पियन जसरी प्रर्दशन गरेको भारतीय टिमले उपाधि भिडन्तमा अष्ट्रेलियासँग हार खायो । लिग चरणमा सबै खेल जितेको भारतले फाइनल खेल ६ विकेटले गुमाउन पुगेको थियो ।
फाइनलमा घरेलु टोली भारतले राम्रो क्रिकेट खेल्न सकेन । खेलमा ७ ओभरमा बाँकी रहदै अष्ट्रेलिया टिम च्याम्पियन बन्यो । घरेलु मैदानमा अष्ट्रेलियाविरुद्धको हार भारतका लागि निकै पिडादायी थियो । कप्तान रोहित शर्मा र विराट कोहलीले हारपछि आशु झार्दै मैदान बाहिरिएका थिए भने अन्य खेलाडी समेत निकै भावुक बनेका थिए ।

निकै निराश बनेका खेलाडीको ड्रेसिङ रुममा भारतीय प्रधानमन्त्री गएको तस्विर र भिडियो सार्वजनीक भएको छ । मोदी ड्रेसिङ रुममा पुगेर खेलाडीसँग गएर कुराकानी गरेका थिए । उनले खेलाडीको अवस्थालाई सामान्य बनाउने प्रयास गरेका थिए ।
‘यस्तो हुन्छ । तपाईहरुले प्रतियोगिताको १० खेल जित्नुभएको छ । तपाईहरु आफुलाई बलियो राख्नुहोस । तपाईहरु एक अर्काको उत्साह बढाउनुहोस् ।’ मोदीले खेलाडीलाई भनेका थिए ।
उनले रबिन्द्र जडेजा र जसप्रीत बुमरासँग गुजरातीमै कुराकानी गरेका थिए ।
मोदीको सोही भिडियो यतिबेला भाईरल भएको छ । मोदीले टिमका सबै खेलाडीलाई दिल्लीमा आफ्नो निवासमा समेत आमन्त्रण गरेका छन् ।
राष्ट्रका लागि खेल्ने खेलाडीको पिडादायी क्षणमा राष्ट्रका अभिभावक पुगेर दिएको ढाडसले धेरैको मन जितेको छ ।














