काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज बिक्रम नेम्वाङ्गको पद जोगिएको छ ।
हेटौडामा बिहीबार एन्फाको विशेष साधारण सभाले अध्यक्ष नेम्वाङ्गमाथिको अविश्वासको प्रस्तावलाई असफल बनाएको छ ।
असन्तुष्ट समूहको बहिष्कारका बीच भएको निर्वाचनमा ८७ मध्य ५३ जनाले भाग लिएका थिए । जस मध्य ५२ जनाले नेम्वाङ्गको पक्षमा मतदान गरेपछि अविश्वासको प्रस्ताव फेल भएको हो ।
एक मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।
विशेष साधारण सभाको बन्द सत्रमा छलफल गर्न नपाएपछि असन्तुष्ट समूहले निर्वाचन बहिष्कार गरेको थियो ।
एन्फाका ४९ सदस्यले एन्फा अध्यक्ष नेम्वाङ्ग र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
सोही प्रस्तावमाथि निर्णय गराउन हेटौडामा आज बिहीबार विशेष साधारण सभा बैठक बोलाईएको थियो ।
बैठकले अविश्वासको प्रस्तावलाई असफल मात्र बनाएको छैन, अध्यक्ष नेम्वाङ्गलाई आगामी साधारण सभाका लागि आरामदायी बहुमत प्रदान गरेको छ ।