काठमाडौं । एसीसी मेन्स यू–१९ प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरबबिरुद्ध उत्कृष्ट ब्याटिङ प्रर्दशन गरेको छ ।
मलेसियामा जारी प्रतियोगितामा सेमिफाइनल प्रवेशका लागि नेपालले समुह चरणको अन्तिम खेलमा साउदीविरुद्ध खेलिरहेको छ ।
खेलमा जित निकाल्ने टिमले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउनेछ । साउदी अरबले टस जितेर फिल्डिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो ।
नेपालले २० ओभरको समाप्तिमा १ विकेटको क्षतीमा सय रन पार गरेको छ । नेपालका लागि ओपनर दिपक बोहरा र अर्जुन कुमालले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई अघि बढाएका थिए ।
पहिलो विकेटका लागि दुवैले ७१ रनको साझेदारी गरेका थिए । बोहरा २९ रन बनाएर आउट भए । जसमा २ छक्का र २ चौका सामेल थियो ।
अर्जुन कुमालले अर्धशतक पुरा गरेका छन् भने आकाश त्रिपाठीले उनलाई राम्रो साथ दिएर खेलिरहेका छन् ।
नेपाल ब्याटिङ र बलिङ दुवैमा राम्रो देखिएको छ । इरानलाई २ सय ७४ रनले हराउँदा होस् वा बहराईनलाई ७ विकेटले पराजित गर्दा, नेपाल दुवै पक्षमा उत्कृष्ट प्रर्दशन गरेको छ ।
लिग चरणको अन्तिम खेलमा जित निकाल्दै नेपाल उपाधि यात्रालाई सहज बनाउने उद्धेश्यमा छ । प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुने टिमले यू–१९ एसिया कपमा छनोट हुनेछ ।