काठमाडौं । राष्ट्रिय टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले आफूले अहिलेको समयमा राष्ट्रिय टोलीमा रहेर शतप्रतिशत दिन सक्छु जस्तो नलागेर सन्यास लिएको बताए ।
दुई दशक जति लामो समय टिममा रहेर देशका लागि खेलेका पूर्व कप्तान मल्लले शुक्रबार एक पत्रकार सम्मेलनको अयोजना गर्दै सन्यास घोषणा गरेका थिए ।
‘अहिलेको लागि राष्ट्रिय टोलीमा जुन शतप्रतिशत दिनु पर्ने थियो । त्यो मैले दिन सक्दिन भने त्यहाँ रहिरहनुपर्छ भन्ने लाग्दैन त्यसैले मैले यस्तो निर्णय लिएको हुँ,’ मल्लले भने ।
सन् २००६ देखि राष्ट्रिय टोलीमा खेलेका मल्लले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका छन् । मल्लले लामो समय टोलीको मुख्य भूमिका निर्वाह गरे ।