काठमाडौं । दर्शक कुटेको विषय सेलाउन नपाउँदै घरेलु भलिबलमा खेलाडीले पत्रकारमाथि हातपातको प्रयास गरेका छन् । प्रधानमन्त्री कप क्लब लिग भलिबल च्याम्पियनसिपको अन्तिम दिन हेल्प नेपालका खेलाडी अमृत क्षेत्रीले पत्रकारमाथि हातपातको प्रयास गरेका छन् ।
हेल्प नेपालका अमृतले खेलपाटीका संवाददाता रहेका खेल पत्रकार विशाल पन्थमाथि हातपातको प्रयास गरेका छन् । उपस्थित पत्रकार, सुरक्षाकर्मीले रोकेपछि पत्रकार पन्थमाथि कुटपिट हुन भने पाएन । उनले अपशब्द बोल्दै पत्रकारमाथि गालीगलौच गरेका थिए र आक्रमणको प्रयास गरेका थिए ।
प्रतियोगिताकै दौरान आर्मीका खेलाडीले कोर्ट बाहिर पुगेर दर्शक कुटेपछि नेपाली भलिबल चर्चामा छ । टिकट काटेर खेल हेर्न कोर्ट पुगेका दर्शकमाथिनै खेलाडी जाईलागेपछि खेलाडीको अनुशासनमाथि प्रश्न उठेको छ भने दर्शकहरुको सुरक्षा चिन्तालाई बढाईदिएको छ ।
नेपाल भलिबल संघको निरन्तरको खराब ब्यवस्थापनका कारण घरेलु प्रतियोगितामा यस्ता घटना दोहरिदै आएका छन् । यसै श्रृङ्खलामा प्रतियोगिताको अन्तिम दिन अर्का खेलाडी अमृत क्षेत्रीले पत्रकारमाथि हातपातको प्रयास गरेका छन् ।
खेल हेर्न आएकी आफ्नी श्रीमतीलाई मिडिया जोन (मिडियाकर्मी बस्ने स्थान)मा बस्न नदिएको भन्दै अमृतले पत्रकारमाथि हातपातको प्रयास गरेका हुन् । प्रतियोगिता आयोजनाको खराब ब्यवस्थापनलाई लिएर नेपाल भलिबल संघको आलोचना हुदै आएको थियो ।
पछिल्लो समय खेलाडीको अनुशासनहीन क्रियाकलपाबाट राष्ट्रिय खेल भलिबलको गरिमा मात्र घटेको छैन, दर्शक–पत्रकारमाथिनै कुटपिट हुने घटना बाहिर आउन थालेको छ ।