कर्णाली प्रदेश रंगशालाको ६० प्रतिशत काम सम्पन्न

काठमाडौं । कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्ज्यालले आर्थिक वर्ष २०७९-८० को प्रगति विवरण सार्वजनीक गरेका छन् । सदस्य सचिव सञ्ज्यालले सुर्खेतको बिरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै चालू आर्थिक वर्षको अन्तिममा प्रगति विवरण सार्वजनीक गरेका हुन् ।
उनले प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधिन प्रदेश रंगशाला भौतिक रुपमा ६० प्रतिशत काम सम्पन्न भएको जानकारी गराएका छन् । उनले दर्शक प्यारापिटमा ४ हजार कुर्सी जडान कार्य सकिएको र भिआईपीतर्फको प्यारापिटको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । उनले फिनिसिङ्ग र छाना निर्माणको कार्य बाँकी रहेको उल्लेख गर्दै कभर्डहलको छाना बाहेक फिनिसिङ्ग कार्य भैरहेको जानकारी दिएका छन् ।
पौडी पोखरी, ब्यवसायीक सटर, गेट निर्माण कार्यको सिभिल स्टकचर कार्य सम्पन्न हुने चरणमा रहेको उल्लेख गर्दै फुटबल मैदानमा दुबो लगाएर स्तर वृद्धि कार्य भैरहेको र एथलेटिक्स ट्रायकको सव बेस र नाली निर्माण सम्पन्न भएको जानकारी गराएका छन् । उनी रंगशाला निर्माणमा असारसम्म ६५ करोड ८५ लाख रुपैयाँ खर्च भएको जनाएका छन् ।

उनले प्रगति विवरणमा अर्को वर्ष कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै दोहोरो अंकको पदक जित्ने उद्धेश्य सहित खेलको वर्गिकरण गरेर तयारी अघि बढाउने निर्णय भएको बताएका छन् । उनले चालू आर्थिक वर्षमा चालूतर्फ ३ करोड ७२ लाख १५ हजार र पुँजिगततर्फ ६१ करोड ६ लाख ५७ हजार गरि ६४ करोड ९९ लाख ७१ हजार खर्च भएको बताएका छन् ।
पत्रकार सम्मेलनमा उनले आगामी आर्थिक वर्षका लागि चालूतर्फ करिब ८ करोड र पुँजिगततर्फ ९१ करोड ८७ लाख गरि १ अर्व १९ लाख ७६ हजार विनियोजन गरिएको जानकारी गराए।
कर्णाली प्रदेश अर्को वर्ष हुने दशौं राष्ट्रिय खेलकुदको तयारीमा छ । सोही अनुसार प्रदेश सरकारले खेलकुद पूर्वाधार निर्माणलाई प्रदेश गौरवको आयोजनाको रुपमा महत्वका साथ अघि बढाईरहेको छ ।
सोही अनुसार कर्णाली प्रदेश खेलकुद पूर्वाधार निर्माण कार्य सम्पन्न गरेर प्रतियोगिताका लागि आफु तयार रहेको सन्देश दिने गरि अघि बढेको सदस्य सचिव सञ्ज्यालले बताए ।














-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
