काठमाडौं । सातौं संस्करणको पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग प्रतियोगितामा महिलातर्फ पुलिस र पुरुषतर्फ आर्मीले विजयी सुरुआत गरेका छन् ।
शनिबार बिहान सुरु भएको प्रतियोगितामा महिलातर्फ पुलिसले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराएको हो ।
पुलिसले गण्डकीलाई २५–१०, २५–१० र २५–११ को सेटमा पराजित गरेको हो ।
पुरुषतर्फको पहिलो खेलमा आर्मीले शैलुङलाई ३–० को सेटमै पाखा लगायो । पहिलो सेट २८–८ दोस्रो सेट २५–१३ र तेस्रो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दै आर्मीले विजयी सुरुआत गरेको छ ।
पुरुषतर्फ पुलिसले बिदेशी खेलाडी सम्मिलित गण्डकीलाई ३–२ सेटमा पराजित गर्यो । पहिलो र दोश्रो सेट २५–२१, २५–१६ ले जितेको पुलिसले तेश्रो सेट १३–२५ र चौथो सेट २४–२६ ले गुमाएको थियो । अन्तिम सेटमा १५–१० को जित निकाल्दै पुलिसले गण्डकीलाई हरायो ।
पुरुषतर्फकै अर्को खेलमा एपीएफले दावाँली मिलन क्लबलाई २५–२२, २५–१३, २५–२३ ले सेटमा पराजित गर्यो ।
प्रतियोगितामा महिलामा ६ टिम र पुरुषमा ७ टिम समावेश गरिएको छ । महिलातर्फ नेपाल पुलिस क्लब, न्यु डायमण्ड स्पोर्टस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र एभरेष्ट गरि ६ टिम खेल्नेछन् ।
पुरुषमा हेल्प नेपाल, आर्मी, एपीएफ, पुलिस, गण्डकी, दावली मिलन क्लब र शैलुङ बागढुङ्गा गरि ७ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय र चौथो हुने टिमले क्रमश ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन् ।
त्यस्तै उक्त प्रतियोगितामा पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीले समान ३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिबेरो र प्रशिक्षकले जनही १५ हजार प्राप्त गर्ने नेपाल भलिबल संघले जनाएको छ ।