काठमाडौं । यशोदा विष्टको अलराउन्ड प्रदर्शनमा काठमाडौंले दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत सोमबार महिला क्रिकेटको उपाधि जितेको छ ।
चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमा सम्पन्न फाइनलमा काठमाडौंले घरेलु टोली चितवनमाथि ५७ रनको रबाफिलो जितसहित उपाधि उचालेको हो । १२५ रनको लक्ष्य पछ्याएको चितवन १५.१ ओभरमा ६७ रनमै समेटिएपछि काठमाडौंले सहज जितसहित उपाधि उचाल्यो ।
काठमाडौंका बलर बिपिशा शाही र संस्कृति फुँयालले तीन तथा यशोदा विष्टले दुई विकेट लिँदै चितवनको इनिङ सस्तैमा समेटे । चितवनका लागि आरती बिडारीले २८ रनबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १२४ रनको योगफल खडा गरेको थियो । काठमाडौंका लागि यशोदा विष्टले सर्वाधिक ४३ रन जोड्दा विन्दा कटवाल ४० रनमा नटआउट रहिन् । चितवनकी हेलिशा गुरुङले दुई तथा सुमन खतिवडाले एक विकेट लिए ।
फाइनलमा अलराउन्ड प्रदर्शन गरेकी काठमाडौंकी यशोदा विष्ट प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन् । चितवनकी सुमन खतिवडा उत्कृष्ट ब्याटर र काठमाडौंकी संस्कृति फुँयाल उत्कृष्ट बलर घोषित भए ।
पुरुष क्रिकेट मंगलबारदेखि चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमै सुरु हुँदैछ । प्रतियोगितामा ११ जिल्लाको सहभागिता रहेको छ । रसुवा र सिन्धुली सहभागी छैनन् ।