काठमाडौं । एसीसी प्रिमियर लिगको फाइनल खेलमा नेपालले युएईबिरुद्ध उत्कृष्ट सुरुआत गरेको छ ।
कीर्तिपुर मैदानमा टस जितेर पहिले फिल्डिङमा उत्रिएको नेपालले उत्कृष्ट बलिङ प्रर्दशन गरेको छ । नेपालले १४ ओभरमा समाप्तिमा युएईको महत्वपुर्ण ५ विकेट झारेको छ ।
युएईको सुरुआती ब्याटिङलाई धरासायी बनाउन नेपालका फास्ट बलरले महत्वपुर्ण योगदान गरेका छन् । सोमपाल कामीले ओपनर रहेका कप्तान मुहमद वासिमलाई आउट गरेर नेपाललाई शानदार सुरुआत दिलाएका थिए ।
करण केसीले आर्यन लक्रा र वृत्य अरबिन्दलाई पोविलियन फर्काएर नेपाललाई खेलमा हाबी बनाएका थिए । ललित नारायण राजवंशीले रमिज शाहजाद र सन्दिप लामिछानेले रोहन मुस्ताफालाई कुशल मल्लबाट क्याच आउट गराउँदै फाइनल खेललाई आफ्नो पक्षमा पारेका छन् ।
नेपालले दिपेन्द्र सिंह ऐरीलाई बेन्चमा राख्दै गुलसन झालाई प्लेइङ ११ मा उतारेको थियो । एसिया कप प्रवेशको ढोका भएका कारण फाइनल खेललाई महत्वपुर्ण मानिएको छ । एसीसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै युएई र नेपालले आगामी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएका छन् ।