पन्जाबलाई हराउदै लखनउ दोस्रो स्थानमा

काठमाडौं । लखनउ सुपर जायन्ट्स पन्जाब किंग्सलाई हराउँदै भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल) को दोस्रो स्थानमा उक्लिएको छ ।
पन्जाबको घरेलु बिन्द्रा क्रिकेट स्टेडियम मोहालीमा शुक्रबार भएको खेलमा लखनउ ५६ रनले विजयी भएको हो ।
लखनउले दिएको २ सय ५८ रनको लक्ष्य पछ्याएको पन्जाबले १९ दशमलब ५ ओभरमा अलआउट हुदै २ सय १ रन मात्र बनाउन सक्यो ।
लखनउका लागि अथर्व ताईडेले ३६ खेलमा ८ चौका र २ छक्काको सहयोगमा ६६ रनको अर्धशतकीय ईनिङ खेले । पन्जाबले पहिलो ओभरमा नै कप्तान शिखर धवनलाई मात्र १ रनमा गुमाएको थियो ।
पन्जाबका लागि तेस्रो विकेटका लागि ताईडे र सिकन्दर राजाले ४७ बलमा ७८ रनको साझेदारी गरेर केही आशा जगाएका थिए । सिकन्दर राजाले २२ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३६ रन बनाए ।
जितेश शर्माले १० बलमा ३ छक्काको सहयोगमा २४ रन बनाए ।
लियम लिविङ्स्टोनले १४ बलमा २ चौका र १ छक्काको सहयोगमा २३ रन बनाए । साम करनले ११ बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाए ।
लखनउका लागि यश ठाकुरले ४ र नभिन उन हकले ३ विकेट लिए । रवि बिश्नोईले २ तथा मार्कस स्टोईनिसले १ विकेट आफ्नो नाममा गरे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो ।
लखनउका लागि मार्कस स्टोईनेसले ४० बलमा ६ चौका र ५ छक्काको सहयोगमा ७२ रनको अर्धशतकीय ईनिङ खेले । मार्कसले तेस्रो विकेटका लागि आयुष बदोनीसँग ४७ बलमा ८९ रनको बिस्फोटक साझेदारी गरे ।
बदोनीले २४ बलमा ३ चौका तथा ३ छक्काको सहयोगमा ४३ रन बनाए । ओपनर कायल मेयर्सले २४ बलमा ७ चौका र ४ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय ईनिङ खेले ।
निकोलस पुरनले १९ बलमा ७ चौका र १ छक्काको सहयोगमा ४५ रन बनाए । मार्कस र पुरनले चौथो विकेटका लागि ३० बलमा ७६ रनको साझेदारी गरे ।
लखनउले अन्तिम पाँच ओभरमा २ विकेट गुमाएर७३ रन बनाएको थियो । दिपक हुडाले अविजित ११ रन बनाए ।
पन्जाबका लागि कागिसो रबाडाले २ तथा अर्शदिप सिंह,लियम लिभिङ्स्टोन र साम करनले समान १/१ विकेट लिए ।
आठ खेलमा पाँच जित र तीन हारका साथ १० टोली सहभागी प्रतियोगितामा लखनउ दोस्रो स्थानमा उक्लिएको छ ।
पन्जाब आठ खेलमा चार जित र चार हारका साथ छैटौं स्थानमा कायमै रहेको छ ।