काठमाडौं । पुर्व विश्वकप च्याम्पियन राष्ट्र श्रीलंकाले नेपालसँगै विश्वकप छनोट प्रतियागिता खेल्ने भएको छ ।
विश्वकप सुपर लिगको शीर्ष ८ मा रहेर सिधा विश्वकप खेल्ने अवसर गुमाएको छ । आईसीसी एकदिवसीय विश्वकपमा छनोट हुनका लागि जिम्बावेमा आयोजना हुने विश्वकप छनोट खेलमा श्रीलंकाले सहभागीता जनाउने भएको छ ।
विश्वकप छनोट आगामी १८ जुन देखि ९ जुलाई सम्म आयोजना हुनेछ । सुपर लिगको अन्तिम खेलमा न्युजिल्यान्डसँग ६ विकेटले पराजित भएसँगै श्रीलंकाले सिधा विश्वकप छनोटको अवसर गुमाएको हो ।
पाहुना टोलीले दिएको १ सय ५८ रनको लक्ष्य घरेलु टोलीले ३२ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।
घरेलु टोलीका लागि विल योंगले १ सय १३ बलमा अविजित ८६ रनको अर्धशतकीय ईनिङ खेले । योंगले ११ चौका प्रहार गरे ।
हेनरी निकोलसले ५२ बलमा अविजित ४४ रन बनाए ।
भ्रमणकारी टोलीका लागि लाहिरु कुमाराले २ तथा कुशन रन्जिथा र कप्तान दासुन शनकाले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाहुना टोली ४१ ओभर ३ बलमा १ सय ५७ रनमा अलआउट भयो ।
पाहुना टोलीका लागि ओपनर पथुम निशंकाले ६४ बलमा ५७ रनको अर्धशतकीय ईनिङ खेले । कप्तान दासुन शनका ३१ तथा चमिका करुणरत्ने २४ रनमा आउट भए ।
धनन्जय डा सिल्भाले १३ रन बनाउँदा श्रीलंकाका अन्य ब्याटरहरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
घरेलु टोलीका लागि म्याट हेनरी,हेनरी शिफ्ली र ड्यारेल मिचेलले समान ३/३ विकेट लिए ।
सुपर लिगमा सहभागी रहेका जिम्बावे र नेदरल्यान्ड्सले यस अघि नै विश्वकप छनोट खेल्ने पक्का भईसकेको छ । त्यसमा अब श्रीलंका पनि थपिएको छ ।
१३ राष्ट्र सहभागी सुपर लिगबाट आयोजक भारत,पाकिस्तान,अस्ट्रेलिया,न्युजिल्यान्ड,बंगलादेश,इंग्ल्यान्ड र अफगानिस्तान छनोट भईसकेका छन् ।
बाँकी एक स्थानमा वेस्ट इन्डिज,दक्षिण अफ्रिका र आयरल्यान्डको सम्भावना रहेको छ ।
आजबाट नै दक्षिण अफ्रिकाले नेदरल्यान्ड्ससँग दुई खेलको सिरिज खेल्दैछ ।
वेस्टइन्डिज २४ खेलमा ९ मा जित र १५ मा हारसहित ८८ अंकका साथ आठौं स्थानमा छ । यदि दक्षिण अफ्रिकाले दुबै खेलमा पराजित भएमा भने वेस्टइन्डिज सोझै विश्वकपमा पुग्नेछ । अन्यथा वेस्टइन्डिजले पनि विश्वकप छनोट खेल्नुपर्ने हुन्छ ।
विश्वकप छनोटमा लिग टू बाट नेपाल, स्कटल्यान्ड र ओमानले स्थान बनाएका छन् । आगामी साता सम्पन्न हुने ६ देश सम्मिलित प्लेअफ क्वालिफायरमा नामिबिया, जर्सी, क्यानडा, अमेरिका, युएई र पपुवा न्युगिनीबाट शीर्ष दुई टोलीले विश्वकप छनोटमा पुग्नेछन् ।