काठमाडौं । नामिबियामा जारी रहेको आईसीसी विश्वकप छनोट प्लेअफ प्रतियोगितामा घरेलु टोलीले लगातार दोस्रो जित हात पारेको छ ।
लगातार दोस्रो जित हात पार्ने क्रममा नामिबियाले जर्सीलाई ८ विकेटले पराजित गरेको हो ।
नामिबियाको विन्डोकमा रहेको वन्डुरस क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोलीले तेस्रो खेलमा दोस्रो जित हात पारेको हो ।
जर्सीले दिएको २ सय १४ रनको लक्ष्य नामिबियाले ३२ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
नामिबियाका लागि माईकल भान लिन्गेनले ९३ बलमा ११ चौका र ४ छक्काको सहयोगमा अविजित १ सय १० रनको शतकीय ईनिङ खेले । उनले ८८ बलमा शतक पूरा गरेका थिए ।
माईकलले २६ एकदिवसीय अन्तराष्ट्रियमा ४ शतक बनाएका छन् ।
कप्तान ग्रेहार्ड ईरास्मसले ८७ बलमा ९ चौका र १ छक्काको सहयोगमा अविजित ८८ रनको अर्धशतकीय ईनिङ खेले ।
माईकल र ईरास्मसबीचमा तेस्रो विकेटका लागि १ सय ९८ रनको साझेदारी भयो ।
जर्सीका लागि जुलिस सुमिरायुरी र चाल्स प्रचडले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको जर्सीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय १३ रन बनायो ।
जर्सीका लागि जोन्टि जिनिरले ९६ बलमा ७६ रनको अर्धशतकीय ईनिङ खेले । जोस लाउरेसनले ६३ बलमा ४२ रन बनाउँदा जुलिस सुमिरायुरीले २८ रन बनाए ।
कप्तान चाल्स प्रचड १४ रनमा अविजित रहँदा बेन्जामिन वार्डले १३ रन बनाए ।
नामिबियाका लागि बेन सिकान्गो र रुवेन ट्रम्पलम्यानले समान ३/३ विकेट लिएका थिए ।
तीन खेलमा दुई जित हात पारेको नामिबिया ४ अंकका साथ ६ टोली संलग्न प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ । लगातार दोस्रो हार व्यहोरेको जर्सी अंक बिहिन रहँदै तालिकाको पुछारमा रहेको छ ।
प्रतियोगितामा ६ टोलीको सहभागीता रहेको छ । प्लेअफमा आईसीसी विश्वकप लिग टू का पुछारका चार टोलीसँगै आईसीसी विश्वकप च्यालेन्ज लिग ए र बी का विजेता राष्ट्रहरुको सहभागीता रहेको छ ।
लिग टू मा नामिबिया चौथो, अमेरिका पाँचौं, युएई छैटौं र पपुवा न्युगिनी पुछारमा रहँदै प्लेअफमा रहेका छन् । प्लेअफमा च्यालेन्ज लिग ए र बी का विजेता जर्सी र क्यानडा पनि रहेका छन् ।
सिंगल राउन्ड रोविनको आधारमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले जिम्बावेमा हुने विश्वकप छनोट खेल्न पाउनेछन् । विश्वकप छनोट खेलका लागि नेपाल भने छनोट भईसकेको छ ।
त्यस्तै पुछारका दुई टोली युएई र पीएनजीले भने प्लेअफमार्फत एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउनु पर्नेछ ।
प्लेअफ प्रतियोगिताका सबै खेल एकदिवसीय अन्तराष्ट्रिय मान्यता प्राप्त हुनेछन् ।
प्लेअफमा अमेरिका र नामिबियाले जुनसुकै स्थान हासिल गरेपनि एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाइसकेका छन्।
युएई र पीएनजीले एकदिवसीय अन्तराष्ट्रिय मान्यता जोगाउन भने क्यानडा र जर्सीभन्दा माथि रहेर प्लेअफको अन्त्य गर्नुपर्ने हुन्छ ।