पोखरा । प्रोफेसनल गल्फर सञ्जय लामा सम्मिलित टोलीले सूर्य नेपाल वेस्टर्न ओपन प्रो–एमको उपाधि जितेको छ ।
पोखरा स्थित पार–६९ हिमालयन गल्फ कोर्समा शनिबार भएको प्रतिस्पर्धामा प्रो सञ्जय लामा तथा एमेच्योर खेलाडीहरु राजु थकाली, सन्तोष गुरुङ र ब्रिगेडियर जनरल सुदर्शन सिलवाल कुल १३८ अंक जोडदै उपाधि जितेका हुन् । प्रो सञ्जय र एमेच्योर गल्फर सिलवालले ३४ अंक जोडे भने अन्य दुई एमेच्योर थकाली र गुरुङले समान ३५ अंक बनाए।
प्रो निरज तामाङ सम्मिलित टोली कुल १२३ अंक जोडेर दोस्रो भएको छ। नीरजले ३२ स्कोर गर्दा एमेच्योर सुष्मा सिग्देलले ३२, दीपक कार्कीले ३० र अर्जुन कुमार कार्कीले २९ अंक जोडे। यसैगरी १०७ अंक जोडेर प्रो बलभद्र राईको टिम तेस्रो बन्यो। बलभद्रले २८ तथा एमेच्योर राजेन्द्र गौचनले २८ सन्देश सिग्देलले पनि २८ र रवीन्द्र तिवारीले २८ अंक जोडे।
महिलातर्फ सुष्मा सिग्देलले ३२ अंक सहित उत्कृष्ट कार्डको ट्रफी हात पारिन् । प्रकाश गुरुङले लङ्गेस्ट ड्राइभ र दिपक कार्कीले क्लोजेस्ट टु दी पिनको उपाधि जिते।
सर्वाधिक स्कोर गर्ने प्रो र उत्कृष्ट तीन एमच्योर गल्फर विजेता टोलीमा परेका हुन्। दोस्रो स्थानका प्रो खेलाडी र चौथो, पाँचौ र छैटौं स्थानका एमेच्योर खेलाडी दोस्रो भए। यसैगरी तेस्रो भएका प्रो तथा सातौं, आठौं,नवौं स्थानका एमेच्योर खेलाडी तेस्रो भएका हुन्।
स्टेबलफोर्ड फुल ह्यान्डिक्याप फरम्याटमा खेलाइएको इभेन्टमा १५ प्रो र ५५ एमेच्योर खेलाडीले भाग लिएका थिए । विजेतालाई पिजीए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठ, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, हिमालयन गल्फ कोर्सका निर्देशक किरण केसीले पुरस्कार वितरण गरे।
शुक्रबार सम्पन्न ५४ होलको इभेन्टमा धरानका शुक्रबहादुर राईले एक-अन्डर २०६ को कुल स्कोरका साथ उपाधि जितेका थिए। सञ्जय लामा र भुवन नगरकोटीले एक-ओभर २०८ मा सम्युक्त दोस्रो स्थान हासिल गरेका थिए। २३औं संस्करणको प्रतियोगितामा कुल आठ लाख नगद पुरस्कार रहेको थियो।