काठमाडौं । दक्षिण अफ्रिकामा जारी रहेको आठौं संस्करणको महिला टी-ट्वान्टी विश्वकप क्रिकेटमा साबिक विजेता अष्ट्रेलियाले फाइनलमा स्थान बनाएको छ ।
बिहिबार केपटाउनमा भएको पहिलो सेमिफाइनल खेलमा अष्ट्रेलियाले भारतलाई ५ रनले पराजित गरेको हो ।
अष्ट्रेलियाले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनायो ।
भारतका लागि कप्तान हरमनप्रित कौरले ३४ बलमा ५२ रनको अर्धशतकीय ईनिङ खेलिन् । कौरले ६ चौका र १ छक्का प्रहार गरिन् । जेमिनी रोड्रिगेजले ४३ रन बनाउँदा दिप्ती शर्माले अविजित २० रन बनाईन् ।
रिचा घोषले १४ तथा स्नेहा रानाले ११ रन बनाईन् ।
अष्ट्रेलियाका लागि ड्रासिक ब्राउन र अश्लिग ग्राडनिरले समान २/२ विकेट लिईन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि बेथ मुन्नीले ३७ बलमा ५४ रनको अर्धशतकीय ईनिङ खेलेकी थिईन् । उनले ७ चौका र १ छक्का प्रहार गरेकी थिईन् ।
कप्तान मिन ल्यानिङले ३४ बलमा अविजित ४९ रन बनाउँदा अश्लिग ग्राडनिरले ३१ रन बनाईन् । अलेशा हिस्लीले २५ रन बनाउँदा ग्रेक ह्यारिसले ७ रन बनाईन् ।
भारतका लागि शिखा पाण्डेले २ तथा राधा यादव र दिप्ती शर्माले समान १/१ विकेट लिईन् ।
जितसँगै सातौं पटक फाइनल प्रवेश गरेको अष्ट्रेलियाले उपाधीका लागि आईतबार दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ ।
दोस्रो सेमिफाइनलमा शुक्रबार दक्षिण अफ्रिका र इंग्ल्याण्डबीच खेल हुनेछ ।