काठमाडौं । नामिबियाले घरेलु टोली यूएईविरुद्ध खराब ब्याटिङ गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले घरेलु टोली यूएईलाई जितका लागि ९२ रनको लक्ष्य दिएको छ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबिया ३१.१ ओभरमा अलआउट हुँदै ९१ रन मात्र बनायो ।
नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले ४१ बलमा ३० रन बनाए । जेन ग्रिनले २८ बलमा २४ रन बनाउँदा माईकल भान १५ रनमा आउट भए । नामिबियाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नामिबियाका कप्तान ग्रेहार्ड इरास्मस सहित चार खेलाडी डगआउट भए । अन्तिम विकेटका लागि भएको २२ रनको साझेदारी नै सबैभन्दा ठुलो रह्यो ।
यूएईका लागि जाहोर खान, आयान खान र कार्तिक मैयप्नले समान ३/३ तथा हर्जत बिलालले १ विकेट लिए ।
नामिबिया ३४ खेलमा १८ मा जित र १५ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ ।
यूएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ ।