काठमाडौं । नेपाल टी-ट्वान्टी लिगमा स्पट फिक्सिङ गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय टोलीका सदस्य आदील आलम र राष्ट्रिय टोलीका पूर्व खेलाडी महबुब आलम र नितेश गुप्तालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंले ३ लाख रुपैयाँका दरले धरौटी माग गरेर उनीहरुलाई रिहा गर्न आदेश दिएको हो ।
न्यायाधीश राजेन्द्र कुमार श्रेष्ठको इजलासले बुधबार उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । अब अदालतले माग गरेको धरौटी बुझाएर उनीहरु थुनामुक्त हुन पाउने छन्।
सरकारी वकिल कार्यालय काठमाडौंले आदील र महबुबसहित ५ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
सरकारी वकिल कार्यालयले आदील र महबुबसहित विरगंजका नितेश, काठमाडौंका नविन कँडेल र सप्तरीका रवि माझीविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को अनुसन्धानको आधारमा उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
सीआईबीले उनीहरुमध्ये आदील, महबुब र नितेशलाई पक्राउ गरेको थियो । नविन र रवि भने फरार प्रतिवादीको सूचीमा छन् ।
नेपाल टी-ट्वान्टी लिग पुस ९ गतेबाट २७ गतेसम्म टियु क्रिकेट मैदानमा आयोजना भएको थियो ।
आदीलले जनकपुर रोयल्सबाट नेपाल टी-ट्वान्टी खेलेका थिए । महबुब भने कुनैपनि टोलीमा थिएनन् ।
प्रतियोगितामा स्पट फिक्सिङ भएको चर्चापछि सीआईबीले अनुसन्धान थालेको थियो ।
सीआईबीले प्रतियोगितामा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको थियो ।