काठमाडौं । २०१९ देखि सुरु विश्वकप लिग टू खेलमा नेपालले ८ खेल खेल्न बाँकी रहेको छ । चार खेल यूएईमा गएर खेल्ने नेपालले बाँकी चार खेल घरेलु मैदानमा खेल्नेछ ।
केही दिनमा नै यूएई भ्रमणमा जाने नेपाली टोलीले त्यहाँ घरेलु टोली तथा पपुवा न्युगिनिसँग खेल्नेछ । नेपालले २७ फेब्रुअरी (फागुन १५) मा पपुवा न्युगिनीसँग खेलेर आफ्नो यूएई भ्रमणको सुरुआत गर्नेछ ।
मार्च २ (फागुन १८) मा घरेलु टोलीसँग नेपालको खेल हुनेछ । मार्च ३ (फागुन १९) मा पपुवा न्युगिनीसँग तेस्रो खेल खेल्ने नेपालले यूएई भ्रमणको अन्तिम खेलमा मार्च ६ (फागुन २२) मा घरेलु टोली यूएईसँग खेल्नेछ ।
यूएई भ्रमणको केही समयमा नै नेपालले आफ्नो घरेलु मैदानमा नेपालले यूएई र पपुवा न्युगिनीलाई अन्तिम विश्वकप लिग टू खेलका लागि निमन्त्रणा दिने छ ।
टियु मैदानमा आयोजना हुने सो खेलको पहिलो खेलमा नेपालले मार्च ९ (फागुन २५) मा पपुवा न्युगिनीसँग खेल्नेछ । मार्च १२ (फागुन २८) मा यूएईसँग नेपालले दोस्रो खेल खेल्नेछ । मार्च १३ (फागुन २९) मा पपुवा न्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।
लिग टूको समिकरण
स्कटल्याण्ड ३६ खेलमा २४ मा जित र १० मा हारका साथ ५० अंकमा रहेर शीर्ष स्थानमा छ । स्कटल्याण्ड विश्वकप लिग टूको च्याम्पियन बनेको थियो । मंगलबार नेपालसँगको खेल पछि उसले च्याम्पियन ट्रफि पाएको थियो । जिम्बाबेमा हुने विश्वकप छनोटमा समेत स्कटल्याण्डले स्थान पक्का गरिसकेको छ ।
यस्तै ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ । नेपालले नामिबियालाई लगातार दुई खेलमा पराजित गरेसँगै विश्वकप लिग टू को शीर्ष ३ मा स्थान सुरक्षित गरिसकेको छ । जिम्बाबेमा हुने विश्वकप छनोटमा समेत ओमानले स्थान पक्का गरिसकेको छ ।
नामिबिया ३४ खेलमा १८ मा जित र १५ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ । बाँकी रहेका २ खेलको प्रदर्शन र अन्य टोलीको नतिजामा उसको आगामी यात्राको तय हुनेछ ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ । सिधा विश्वकप छनोट खेल्ने सम्भावना समाप्त भईसकेको अमेरिका नामिबियामा आयोजना हुने विश्वकप छनोट प्लेअफको तयारीमा रहेको छ ।
यूएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौं स्थानमा छ । बाकीँ १० खेलमा प्रदर्शन र अन्य टोलीको नतिजाको आधारमा यूएईको आगामी यात्राको तय हुनेछ ।
नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ८ खेल तथा अन्य टोलीको नतिजाको आधार नेपालको यात्रा तय हुनेछ । शीर्ष तीनमा पर्दै सिधा विश्वकप छनोटमा स्थान बनाउँन नेपालले सबै खेल जित्नुपर्ने हुन्छ ।
पपुवा न्युगिनी २८ खेलमा २ मा जित र २५ मा हारसहित ५ अंक जोड्दै पुछारमा छ । शीर्ष तीनमा पर्ने सम्भावना गुमाईसकेको पपुवा न्युगिनी विश्वकप छनोटको प्लेअफको तयारीमा रहेको छ ।