काठमाडौं । नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीका कप्तान देव खनालले आफुमा टिमको ठूलो जिम्मेवारी रहेको बताएका छन् ।
आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट खेल्न यूएई जानु अघि बिदाइ कार्यक्रममा बोल्दै कप्तान देवले आफुमा ठूलो जिम्मेवारी रहेको त्यसैमा केन्द्रित भएको बताए ।
'मेरो भूमिका एकदम महत्वपूर्ण रहेको छ । म भनेको कप्तानको रुपमा रहेको सिनियर खेलाडी हुँ । टिमलाई लिएर जाने मैले नै हो जस्तो लाग्छ । एकदमै ठूलो जिम्मेवारी छ । त्यसलाई पूरा गर्नुछ जसरी भए पनि । त्यसमा चै म एकदम फोकस छु,' कप्तान देवले भने, 'यसमा राम्रो गरेर राष्ट्रलाई जिताएर ल्याएर सिनियर टिममा फेरी आउनुछ । यस पटक विश्वकपमा छनोट हुने राम्रो सम्भावना रहेको छ । हामीसँग जगत गुरु हुनुहुन्छ । उहाँ आफैमा नेपाली क्रिकेटका लागि लकि हुनुहुन्छ । जगत गुरुका हरेक कार्य गर्दा टिम सन्तुलित बनेको छ ।'
नेपालले २०१६ को बंगलादेशमा भएको विश्वकप पछिका तीन विश्वकपमा स्थान बनाउँन असफल हुदै आएकोमा यस पटक विश्वकपमा छनोट हुने पूरा सम्भावना रहेको कप्तान देवले बताए ।
'एज ग्रुपमा कुनै पनि टिम बलियो भन्ने हुदैन सबै एभरेजका नै हुन्छन् । वान बाई वान लिएर जान्छौ सबै खेलहरु । र विश्वकपमा नेपाललाई छनोट गराएर ल्याउने सपना रहेको छ । राम्रो प्रदर्शन गरेर सिनियर टिममा फर्कने सपना रहेको छ ।' उनले भने 'गुलशन हाम्रो टिमको मेन खेलाडी थियो ।उसको जस्तो ब्याटिङ र बलिङ क्षमता यो टिममा कसैको छैन । एउटा लिडर तथा टिमको मेन खेलाडी थियो गुलशन ।उसको रोल चै मिस हुन्छ जस्तो लाग्छ । टिमलाई हामी ब्यालेन्स बनाएर लैजान्छौ । टिमलाई उसको अभाव महसुस नहुने हामी बनाउछौ । फर्किएर आएर उसलाई विश्वकपमा लिएर जान पाउँ ।'
गुलशन सिनियर टिममा रहने भएकोले मंगलबार मात्र नेपाल क्रिकेट संघ(क्यान)ले खनाललाई कप्तानीको जिम्मेवारी दिएको थियो । नेपालले शुक्रबारबाट सुरु हुने यस प्रतियोगिताको उपाधि जित्न सकेमा २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ । नेपाली यू-१९ टोलीको कप्तानी गरिरहेका देवले सिनियर राष्ट्रिय टोलीबाट खेलि सकेका छन् ।
'सबै कुराहरु राम्रो छ । पोखरामा क्याम्प भयो । तीन वटा अभ्यास खेल पनि खेल्यौं । समग्रमा टिम राम्रो रहेको छ । एयटा गोल लिएर गईरहेका छौ । राष्ट्रलाई गर्व गराउने यसैमा फोकस छ ।' उनले भने 'मेन हाम्रो फास्ट बलिङ चै राम्रो रहेको छ । रनरअप हुनेत चान्स नै छैन हामी विजेता ट्रफि नै लिएर आउछौ ।सबैबाट राम्रो हुने आशा छ ।'