आयोजक भद्रपुर ब्लेजर्सको विजयी सुरुआत

झापा । अफ्रिकन खेलाडी प्रेरित खेलमा पाहुना टोली जयगाउँ एफसीलाई हराउँदै घरेलु टोली भद्रपुर ब्लेजर्सले भद्रपुर झापा गोल्डकपमा विजयी सुरुआत गरेको छ ।
मेची रंगशाला भद्रपुरमा आइतबार भद्रपुरले पाहुना टोलीलाई २–० ले पराजित गरेको हो । भद्रपुरका लागि दुबै गोल विदेशी खेलाडीले गरे ।
पहिलो हाफ बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा आयोजकका तर्फबाट स्टेफन समीरले गोल गरे । मेसुके ओलोमोउलेको पासलाई डिबक्समा रहेको स्टेफनले गोलमा परिणत गरे । दोस्रो गोल ८० औं मिनेटमा आयोजकका मेसुकेले गरे ।
अधिकाँश खुमलटार युथ क्लबका खेलाडीले लिएर मैदानमा उत्रिएको आयोजकलाई पाहुना टोली जयगाउँले दबाबमा राखेको थियो । खेलको पाँचौ मिनेटमा गोलरक्षक विट भएको अवस्थामा स्टेफनको प्रहार बारमा लागेर फर्किएको थियो।
२२ औं मिनेटमा वान भर्सेस वानको अवस्थामा जोखिम मोल्दै जयगाउँका गोलरक्षक विशाल लामाले डिबक्स बाहिर हेडर मार्फत क्लियर गरे । ३४ औं मिनेटमा स्टेफनको प्रहार गोलपोष्ट माथिबाट बाहिरियो । दोश्रो हाफमा आयोकजले केही मुभहरु बनाउन सफल रहयो । ६० औं मिनेटमा मेसुकेको प्रहार गोलरक्षकले बाहिर पठाए ।

६७ औं मिनेटमा मेसुकेको हेडर पोष्ट भन्दा माथिबाट बारिहयो । लगतै वान भर्सेस वानमा मेसुकेको प्रहार गोलरक्षले बचाए । खेलको प्लेयर अफ द म्याच आयोजकका मेसुके घोषित भए । उनले नगद २० हजार पुरस्कार पाए । पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेका थिए ।
प्रतियोगिता अन्तर्गत सोमबार विभागीय टोली नेपाल पुसिल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुने आयोजक भद्रपुर–झापा गोल्डकपका महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।
गोल्डकपमा तीन विदेशीसहित १० टिमको सहभागिता रहेको छ ।









%20(1)-1763645320295.jpeg&w=3840&q=75)



