काठमाडौं । भारतीय प्रशिक्षक मोन्टी देशाईको डेब्यु खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमले जित हासिल गरेको छ ।
नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकको रुपमा देशाईले डेब्यु गरेको खेलमा नेपालले मंगलबार नामिबियालाई हराएको हो ।
आईसीसी विश्वकप क्रिकेट लिग टूको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिज अन्तर्गत टियु क्रिकेट मैदानमा नेपालले नामिबियालाई २ विकेटले हराएको हो ।
यस जितसँगै देशाईको नेतृत्वमा नेपालले सुखद सुरुआत गरेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को मुख्य प्रशिक्षक छनोट समितिले देशाईलाई हालै मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
क्यानले देशाईलाई एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।
देशाईले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ कन्सल्ट्यान्ट भएका थिए । त्यस भन्दा अगाडी देशाईले सन् २०१५ को आईसीसी टी–ट्वान्टी विश्वकप छनोटका क्रममा राष्ट्रिय क्रिकेट टिमका लागि काम गरेका थिए ।
मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको थियो ।