काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुशल भुर्तेलले शतक पूरा गरेका छन् ।
कुशलले ९९ बलमा ९ चौका र ४ छक्काको सहयोगमा शतक प्रहार गरेका हुन् ।
यो सँगै नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर २ सय २९ रन बनाएको छ ।
नेपालका ज्ञानेन्द्र मल्ल २५ रन र ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए ।
कप्तान रोहित पौडेल ७२ तथा कुशल मल्लले ६ रनमा आउट भए ।
क्रिजमा अहिले कुशल भुर्तेल र सन्दीप जोरा रहेका छन् । भुर्तेल १ सय रनमा अविजित रहँदा जोरा ९ रनमा अविजित रहेका छन्।
कुशलको यो एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक हो । टी-ट्वान्टी अन्तराष्ट्रिय तथा एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने भुर्तेल तेस्रो नेपाली खेलाडी हुन् ।
यस अघि पारस खड्का र दीपेन्द्र सिंह ऐरीले दुवैमा शतक प्रहार गरेका थिए ।
कुशल एकदिवसीय अन्तराष्ट्रियमा शतक बनाउने नेपालका पहिलो ओपनर पनि हुन् ।
नामिबियाले टस हारेर पहिले ब्याटिङ गरेको थियो । नामिबियाले अन्तिम बलमा अलआउट हुँदै २ सय ८५ रन बनाएको थियो । नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले सानदार शतक प्रहार गरे ।
उनले बलमा ११८ बलमा ६ चोका र ४ छक्काको मद्धतमा शतक पूरा गरेका हुन् ।
उनले १ सय ३३ रन बनाएका थिए । कप्तान ग्रेहार्ड इमास्मसले ५६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।
एकदिवसीय अन्तराष्ट्रियमा नामिबियाविरुद्ध नेपालले पहिलो पटक घरेलु भुमिमा खेल्न लागेको हो ।
लिस्ट 'ए' मान्यता प्राप्त खेलमा भने २०१६ मा नेपाल र नामिबियाले नेपालमा खेलिसकेका छन् ।
२०१६ मा भएको दुई खेलमा दुवै खेल नेपालले जितेको थियो ।
नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।
सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।