काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर रोहित पौडेलले अर्धशतक पूरा गरेका छन् ।
रोहितले ४७ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका हुन् ।
यो सँगै नेपालले २४.४ ओभरमा १ सय ३८ रन बनाएको छ ।
नेपालका ज्ञानेन्द्र मल्ल २५ रन र अर्का ओपनर आसिफ शेख शून्य रनमा आउट भएका थिए ।
क्रिजमा अहिले कुशल भुर्तेल र रोहित पौडेल रहेका छन् ।
रोहितको यो एकदिवसीय अन्तराष्ट्रियमा छैठौं अर्धशतक हो ।
नामिबियाले टस हारेर पहिले ब्याटिङ गरेको थियो । नामिबियाले अन्तिम बलमा अलआउट हुँदै २ सय ८५ रन बनाएको थियो । नामिबियाका लागि माइकल भ्यान लिङ्गेनले सानदार शतक प्रहार गरे ।
उनले बलमा ११८ बलमा ६ चोका र ४ छक्काको मद्धतमा शतक पूरा गरेका हुन् ।
उनले १ सय ३३ रन बनाएका थिए । कप्तान ग्रेहार्ड इमास्मसले ५६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए ।
एकदिवसीय अन्तराष्ट्रियमा नामिबियाविरुद्ध नेपालले पहिलो पटक घरेलु भुमिमा खेल्न लागेको हो ।
लिस्ट 'ए' मान्यता प्राप्त खेलमा भने २०१६ मा नेपाल र नामिबियाले नेपालमा खेलिसकेका छन् ।
२०१६ मा भएको दुई खेलमा दुवै खेल नेपालले जितेको थियो ।
नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।
सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।