धनगढी। धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा सैनिक आवासीय मावि तेगरिले शारदा विद्या निकेतन धनगढीविरुद्ध सान्त्वना जित दर्ता गरेको छ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सैनिकले दिएको १२५ रनको लक्ष्य पछ्याएको शारदाले २० ओभरमा ७ विकेट क्षतिमा ११६ रन बनायो। शारदाका ओपनर हृदय बिठारीले सर्वाधिक ३६ रन बनाए।
गोबिन्द बिस्टले १६ तथा कृष्ण भट्टले १५ रन बनाए। सैनिकका बलर सागर चन्द र रबिन्द्र कार्कीले २/२ विकेट तथा सुनिल चन्द, निशान्त भट्ट र सन्दीप बिस्टले १/१ विकेट लिए।
यस अघि टस जितेर ब्याटिङ गरेको सैनिकले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२४ रन बनायो। सैनिकका ओपनर ब्याटर सन्दीप बिस्टले सर्वाधिक ५९ रन बनाए जुन क्रममा उनले ४५ बलमा ८ चौका प्रहार गरे। उनि प्लेयर अफ द म्याच घोषित भए। बिशाल ऐरले २३ रन बनाए।
बलिङतर्फ शारदाका नाग राज सिंह, अशोक धामी र आयुष खड्काले २/२ विकेट लिए।
प्रतियोगिताको दुबै सेमिफाइनल बिहीबार हुनेछन्। पहिलो सेमिफाइनलमा लिटल फ्लावर स्कुल धनगढी र लोटस आई स्कुल अत्तरियाबीच तथा दोश्रो सेमिफाइनलमा सत्यवती एकेडेमी अत्तरिया र नव बाल बाटिका बौनिया बीच प्रतिस्पर्धा हुनेछ।
लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सको आयोजनामा जारी प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदीयमान खेलाडीलाई नगद ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।