काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाले नेपाललाई जितका लागि २ सय ८६ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले अन्तिम बलमा अलआउट हुँदै २ रन ८५ रन बनाएको थियो ।
उसका मिचेल भानले १ सय ३७ बलमा १ सय ३३ रनको शतकीय ईनिङ खेलेका थिए । उनले ९ चौका र ५ छक्का प्रहार गरेका थिए ।
कप्तान ग्रेर्हाड इरास्मसले ७९ बलमा ५६ रनको अर्धशतकीय ईनिङ खेलेका थिए । जान ग्रिनले ३४ रन बनाएका थिए।
नेपालका करण केसीले १० ओभरमा ६१ रन खर्चिएर ५ विकेट लिए । करणको यो एकदिवसीय अन्तराष्ट्रियमा तेस्रो ५ विकेट हो । एकदिवसीय अन्तराष्ट्रियमा तीन पाँच विकेट लिने करण पहिलो नेपाली खेलाडी हुन् ।
पूर्व कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । ६ महिना पछि मैदान फर्किएका लामिछानेले १० ओभरमा ६६ रन खर्चिएका थिए । सोमपाल कामी र कुशल मल्लले समान १/१ विकेट लिए ।
एकदिवसीय अन्तराष्ट्रियमा नामिबियाविरुद्ध नेपालले पहिलो पटक घरेलु भुमिमा खेल्न लागेको हो ।
लिस्ट 'ए' मान्यता प्राप्त खेलमा भने २०१६ मा नेपाल र नामिबियाले नेपालमा खेलिसकेका छन् ।
२०१६ मा भएको दुई खेलमा दुवै खेल नेपालले जितेको थियो ।
नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फागुन ५ मा खेल्नेछ । नेपालले फागुन ६ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फागुन ९ मा खेल्नेछ ।
सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।