काठमाडौं । नेपाली क्रिकेटको विवाद समाधानका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद् आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिको बैठक भोली बस्दैछ । बैठकमा सहभागिता जनाउन आईसीसीका प्रतिनिधि काठमाडौं आईपुगेका छन् ।
कमिटि सदस्यहरु मोहमद अलि र अमर शेख काठमाडौं छन् । ईमरान ख्वाजा राति ९ बजेसम्म काठमाडौं आईपुग्ने कार्यतालिका रहेको स्वतन्त्र कमिटि सदस्य ठाकुर प्रताप थापाले बताए ।
काठमाडौंमा दुई दिन सम्म चल्ने बैठकले क्रिकेट विवाद समाधानको रोडम्यापमा सहमतीको प्रयास गर्नेछ । कमिटिमा आईसीसीबाट तीन र नेपालबाट दुई जना प्रतिनिधि छन् । राखेपबाट पुर्व कप्तान एलबी क्षेत्री र निलम्बित क्यानबाट ठाकुर प्रताप थापालाई कमिटिमा समावेश गरिएको छ ।
यसअघि बसेको स्वतन्त्र कमिटिको पहिलो बैठकले अदालतको मुद्धा फिर्ता लिन निलम्बित क्यानलाई आग्रह गरेको थियो । त्यस्तै सरकारले बनाएको तदर्थ कमिटि भंग गर्न उसको आग्रह थियो । तर निलम्बित क्यानले अदालतको मुद्वा फिर्ता लिएको छैन । यद्वपी उसले मुद्वा फिर्ताको औपचारिक निर्णय बोर्ड बैठकबाट पास गराएको छ ।
निलम्बित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जिल्ला निर्वाचनको मान्यता र नयाँ नेतृत्व चयनको रोडम्याप बनेपछि मात्र मुद्वा फिर्ताको निर्णय कार्यान्वयनमा जाने बताएका छन् ।
यता, राखेपले बैधानिक हैसियत नभएको कमिटि भंग गर्न नपर्ने दाबी गर्दै आएको छ ।