सामना र समाज कल्याण सेमिफाइनलमा

बेशीसहर । सामना एफसी र समाज कल्याण खेलकुद केन्द्रले ३० औं संस्करणको त्रिवेणी कप फुटबलको सेमिफाइनलमा स्थान बनाएका छन् ।
लमजुङको बेसीसहरमा आइतबार भएको क्वाटरफाइनलमा बुद्ध युवा क्लब भोटेओढारलाई १-० गोल अन्तरले हराउँदै सामना अन्तिम चारमा पुगेको हो ।
सामनाको जितमा विपिन कँडेलले १५ औं मिनेटमा निर्णायक गोल गरे ।
अर्को क्वाटरफाइनलमा समाज कल्याण खेलकुद केन्द्रले नखिपोट युवा क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर अन्तिम चारमा पुगेको हो ।
खेलको निर्धारित र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टीमा समाज कल्याणका एलेक्स, निशान्त, पुस्कर खड्का र सन्तोष श्रेष्ठले गोल गरे । सुबाश गुरुङ गोल गर्न चुके।
नखिपोटका युवराज ढकाल र करणले गोल गर्दा राम शाही र भरत शाह गोल गर्न चुके ।
पेनाल्टी अघि भरत शाहले गोल गर्दै नखिपोटलाई अग्रता दिलाएका थिए ।
तर, अब्दुल्लाहले गोल गर्दै समाज कल्याणलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस्तै नखिपोटका आशिष सुनार र समाज कल्याणका अब्दुल्लाहले रातो कार्ड पाएपछि दुबै टोली १० खेलाडीमा समेटिएका थिए ।
अब पहिलो सेमिफाइनलमा बागमती एफसी र सामना एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो सेमिफाइनलमा समाज कल्याण र रोड्स रामपुरबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।
सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीले जनही १५ हजार पाउने छन् ।












-1763309767672.webp&w=3840&q=75)
